दमक, १५ । असोज । दमक नगरपालिका वडा नम्बर ६ ले एकदिने रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
मुटु दिवस तथा ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बिहिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत जम्मा भएको दमक–६ को आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख चेतन निरौलाले जानकारी दिनुभयो।
‘रक्तदान जीवनदान’ भन्ने नारालाई सार्थकता दिन कार्यक्रम आयोजना गरिएको वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो।
रक्तदान कार्यक्रम रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसञ्चार विभागको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
भर्खरै भोटेकोशीमा आएको बाढी र त्यसपछि आएको बाढी तथा पहिरोमा घाइते भएकाहरूको उपचारमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कार्यक्रम आयोजना गरिएको बताइएको छ।









