दमक, १५ असोज । इलामको माङ्सेबुङ गाउँपालिका र दमकमा रहेको लाइफलाइन अस्पतालबीच गाउँपालिकावासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।
बिहीबार अस्पतालमा आयोजित औपचारिक कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राई र अस्पतालका अध्यक्ष बालचन्द्र सुव्वाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
सम्झौताअनुसार लाइफलाइन अस्पतालले गाउँपालिकाको स्वास्थ्य केन्द्रमा गएर प्रत्येक हप्ता विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सेवा प्रदान गर्नेछ। साथै, गाउँपालिकाका स्थायी बासिन्दाले अस्पतालबाट प्राप्त गर्ने विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
सम्झौताका विषयमा जानकारी दिँदै लाइफलाइन अस्पतालका सञ्चालक कृष्ण थापाले गाउँपालिका र अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता नयाँ नभएको बताउनुभयो। उहाँका अनुसार अघिल्लो वर्ष पनि यस्तो सम्झौता भएको थियो भने यस वर्ष त्यसको नवीकरण गरिएको हो। नयाँ नवीकरणमा २० प्रतिशतसम्म छुटको सुविधा थप गरिएको उहाँले बताउनुभयो।
गाउँपालिका अध्यक्ष हेमन्त राईले अघिल्लो वर्षदेखि नै गाउँपालिकामै विशेषज्ञ चिकित्सक पुगेर सेवा दिँदै आएको बताउनुभयो। यसले गाउँपालिकावासीले विशेषज्ञ सेवा लिन दमकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो।
सम्झौतापछि अस्पतालका अध्यक्ष बालचन्द्र सुव्वाले सम्झौतामा उल्लेख भएका सुविधाका अतिरिक्त अस्पतालमा उपलब्ध अन्य सेवासमेत गाउँपालिकावासीले उपयोग गर्न सक्ने बताउनुभयो।
अस्पतालले कुल शय्यामध्ये १० प्रतिशत शय्या गरिब तथा विपन्नका लागि छुट्याएको जनाएको छ। गाउँपालिकाको सिफारिसमा आएका सेवाग्राहीलाई उक्त सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ। त्यसैगरी, अस्पतालमा आमा सुरक्षा कार्यक्रमसमेत रहेकाले सुत्केरी महिलालाई निःशुल्क उपचारको व्यवस्था रहेको अस्पतालका अध्यक्ष सुव्वाले बताउनुभयो।
दमकको पहिलो निजी अस्पतालका रूपमा स्थापित लाइफलाइन अस्पताल १ सय शय्याको विशेषज्ञ अस्पताल हो। अस्पतालमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकसहित शल्यक्रियाको सुविधा रहेको छ। साथै, निःशुल्क डायलाइसिस सेवासमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ।









