बिर्तामोड ,१८ असोज । दसैँको मुख्य व्यापारिक सिजनमा बिर्तामोडमा सुरु गरिएको ‘चिनो वेयरहाउस सेल’ बन्द गराउन स्थानीय व्यवसायीले दबाब दिएपछि चिनोका संस्थापक नवराज बजगाईंले असन्तुष्टि जनाएका छन् ।
चिनोले शनिबारदेखि बिर्तामोड सिटी सेन्टरमा चारदिने ‘वेयरहाउस सेल’ सुरु गरेको थियो । कम्पनीकै फ्याक्ट्रीमा उत्पादित कपडा छुट मूल्यमा बिक्री गर्ने उद्देश्यले सञ्चालन गरिएको सेलप्रति स्थानीय व्यवसायीले आपत्ति जनाएका हुन् ।
दसैँ, तिहार र छठजस्ता मुख्य व्यापारिक सिजनमा बाहिर दर्ता भएको व्यवसायले अस्थायी रूपमा ठूलो छुटमा सामान बिक्री गर्दा वर्षभरि पसल सञ्चालन गर्दै आएका स्थानीय व्यवसायी प्रभावित हुने भन्दै उनीहरूले विरोध गरेका थिए ।
स्थानीय व्यवसायीको आपत्तिपछि बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा शनिबार संघको कार्यालयमा सेल सञ्चालक, चिनो व्यवस्थापन र स्थानीय व्यवसायीबीच छलफल भएको थियो । छलफलपछि स्थानीय व्यवसायलाई असर पर्ने गरी सञ्चालन गरिएको सेल बन्द गर्ने निर्णय भएको संघले जनाएको छ ।
तर, चिनोका संस्थापक बजगाईंले आफूहरू स्थानीय व्यवसायीसँग प्रतिस्पर्धा गर्न नभई झापाको बजार सम्भावना बुझ्न आएको बताएका छन् । उनका अनुसार चारदिने कार्यक्रम बजार परीक्षणका लागि गरिएको ‘प्रि–रिसर्च’ तथा ‘वार्मअप एक्टिभिटी’ हो ।
‘झापाले वेलकम गर्ला भन्ने थियो । वाणिज्य संघले पनि रेस्पेक्ट गर्ला भन्ने आशा राखेका थियौँ,’ बजगाईंले भने, ‘तर व्यवसाय क्षेत्रका साथीहरूले जुन किसिमको असन्तुष्टि व्यक्त गर्नुभयो, त्यो चित्तबुझ्दो देखिएन ।’
उनका अनुसार झापा आउनुअघि स्थानीय व्यवसायीसँग सहकार्य गर्ने उद्देश्यले करिब २ हजार व्यवसायीलाई पत्राचार गरिएको थियो । स्थानीय व्यवसायीलाई समेत सहभागी गराएर अघि बढ्ने तयारी भए पनि अपेक्षाअनुसार सहकार्य हुन नसकेको उनले बताए ।
बजगाईंले आफू विवाद सिर्जना गरेर बजारमा आएको नभएको भन्दै सेल बन्द गर्नुपर्ने भए स्पष्ट मापदण्ड र लिखित सूचना दिनुपर्ने बताए ।
‘म कुनै फ्रड गरेर हिँड्ने पक्षमा छैन । संघले क्राइटेरिया तोकेर लिखित नोटिस दिनुपर्छ । त्यो नोटिस जेएनजी कम्युनिटीमा टाँसेर सेल बन्द गरेर हिँड्छु,’ उनले भने ।
सेलबाट ठूलो रकम बाहिरिने जस्तो गरी चर्चा गरिएकोप्रति पनि उनले असन्तुष्टि जनाए । ‘एक अर्ब रुपैयाँ पैसा लैजान्छ जस्तो गरी साथीहरूले चर्चा परिचर्चा सुरु गर्नुभयो,’ उनले भने ।
चिनो व्यवस्थापनका अनुसार सेल सञ्चालन गर्नुअघि जिल्ला प्रशासन कार्यालय, वडा र नगरपालिकासँग आवश्यक अनुमति लिइएको थियो । कम्पनीले बजार परीक्षणका क्रममा सीमित नमुना तथा केही थान कपडा ल्याएर उपभोक्ताको प्रतिक्रिया बुझिरहेको जनाएको छ ।
चिनोले हाल देशभर ११ वटा आउटलेट र तीनवटा होलसेल सञ्चालन गर्दै आएको जनाएको छ । झापामा कपडाको ठूलो कारोबार हुने भएकाले बजार सम्भावना अध्ययन गर्न बिर्तामोडलाई रोजिएको कम्पनीको भनाइ छ ।
बजगाईंका अनुसार झापामा वार्षिक करिब २० देखि २२ अर्ब रुपैयाँ बराबरको कपडाको कारोबार हुने अनुमान छ । दसैँको समयमा मात्रै कुल कारोबारको करिब २५ प्रतिशत कारोबार हुने उनको दाबी छ । यही बजार सम्भावना बुझ्न चिनोले बिर्तामोडमा वेयरहाउस सेलमार्फत परीक्षण गर्न खोजेको हो ।
यता, स्थानीय व्यवसायीले भने मुख्य व्यापारिक सिजनमा बाहिरबाट आएका व्यवसायीले छुटका नाममा अस्थायी बिक्री केन्द्र सञ्चालन गर्दा नियमित रूपमा व्यवसाय गर्दै आएका व्यापारीको कारोबार प्रभावित हुने बताएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले स्थानीय व्यवसायीले वर्षभरि पसल सञ्चालन, रोजगारी सिर्जना र करको दायित्व बहन गरिरहेका बेला मुख्य सिजनमा बाहिरबाट आएर छुटमा सामान बिक्री गर्नु चुनौतीपूर्ण हुने बताएका छन् ।
स्थानीय व्यवसायीले सेलबाट नियमित व्यापार प्रभावित हुने भन्दै स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराएका थिए । त्यसपछि संघले चिनो व्यवस्थापन र व्यवसायीबीच छलफल गराएको हो ।
चिनो व्यवस्थापनले भने बजार प्रवेशकै क्रममा स्थानीय व्यवसायीसँग सहकार्य गर्न खोजिएको तर सेल नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै प्रश्न उठाएको छ ।
चिनोको वेयरहाउस सेल विवादले दसैँको मुख्य व्यापारिक सिजनमा स्थानीय व्यवसाय संरक्षण र नयाँ ब्रान्डलाई बजार प्रवेशको अवसरबीचको सन्तुलनबारे बहससमेत सतहमा ल्याएको छ ।









