देउवाका लागि राखिएको खाली कुर्सी

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह केवल पार्टीको नयाँ नेतृत्व चयनको औपचारिक सुरुवातमा सीमित रहेन । खुलामञ्चमा आयोजित समारोहमा देखिएको दृश्य, नेताहरूबीचको सवाल–जवाफ र विभिन्न दलका शीर्ष नेताहरूले व्यक्त गरेका धारणाले कांग्रेसको आन्तरिकसँगै मुलुकको समग्र राजनीतिक दिशामाथि पनि बहस जन्माएको छ ।

 

‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ सुरु भएको महाधिवेशनमा सबैभन्दा बढी चर्चामा भने पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थिति रह्यो ।

देउवाका लागि राखिएको खाली कुर्सी

महाधिवेशनको उद्घाटन पूर्वसभापति देउवाले गर्ने अपेक्षा कांग्रेसका नेता–कार्यकर्तामा थियो । तर, उनी उपस्थित भएनन् र आउने वाचा पनि गरेका थिएनन् । त्यसैले सभापति गगनकुमार थापाले गमलाको बिरुवामा जल सिञ्चन गर्दै तथा पूर्वसभापतिहरूको तस्बिरमा माल्यार्पण गरेर महाधिवेशनको औपचारिक उद्घाटन गरे ।

थापाले आफ्नो सम्बोधनका क्रममा देउवाका लागि कुर्सी खाली राखिएको तर उनी उपस्थित नभएको उल्लेख गरे । देउवालाई औपचारिक निम्ता गरिएको वा नगरिएको भन्ने विषयमा भने उनले स्पष्ट पारेनन् । यसले कांग्रेसभित्र देखिँदै आएको आन्तरिक मतभेद र शक्ति संघर्षलाई उद्घाटन समारोहकै मञ्चमा प्रतीकात्मक रूपमा प्रस्तुत गर्यो ।

देउवा पक्षको उल्लेख्य सहभागिता नदेखिनु र सभापति थापाले नयाँ पुस्ता तथा परिवर्तनको भाषालाई प्राथमिकता दिनुले १५औँ महाधिवेशन कांग्रेसको पुस्तान्तरण र राजनीतिक पुनर्संरचनाको प्रयासका रूपमा अघि बढेको संकेत दिएको छ । कांग्रेसको एउटा पक्ष वाहिर रहँदा आगामी राजनीतिक भविष्यबारे भने अन्योलता देखिन्छ ।

‘म्युजिकल चियर’बाट असन्तुष्ट जनता

सभापति थापाले आफ्नो सम्बोधनमा नेपाली राजनीतिमा लामो समयदेखि दोहोरिँदै आएको नेतृत्व प्रवृत्तिमाथि कडा टिप्पणी गरे ।

प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति पुनः नेतृत्वमा दोहोरिने र मन्त्री बनेका व्यक्ति पटक–पटक सत्तामा पुगिरहने प्रवृत्तिले राजनीतिलाई ‘म्युजिकल चियर’ जस्तो बनाएको उनको निष्कर्ष थियो ।

थापाका अनुसार यही प्रवृत्तिले जनतामा सबै राजनीतिक दल र नेता उस्तै हुन् भन्ने धारणा बनायो । राजनीतिप्रतिको बढ्दो वितृष्णा र असन्तुष्टिको अभिव्यक्ति २०८२ को भदौ २३ र २४ गतेका घटनामा देखिएको उनको भनाइ थियो ।

थापाको यो अभिव्यक्ति कांग्रेसभित्रको नेतृत्व परिवर्तनको बहस मात्र नभइ, समग्र नेपाली राजनीतिमा पुस्तान्तरण र नयाँ राजनीतिक संस्कारको आवश्यकतामाथिको स्वीकारोक्ति पनि जस्तो देखिन्छ ।

रवि लामिछानेको सन्देश, सरकार चुनावबाट मात्रै बदलौँ

समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने फरक कोणबाट राजनीतिक स्थिरताको विषय उठाए ।

उनले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकार परिवर्तनको माध्यम निर्वाचन मात्र हुनुपर्ने धारणा राखे ।

आन्दोलनबाट सरकार ढाल्ने परम्पराले लोकतन्त्रलाई बलियो नबनाउने भन्दै उनले जनमतबाट बनेको सरकार र निर्वाचनको परिणामको सम्मान गर्न राजनीतिक दलहरूलाई आग्रह गरे ।

प्रचण्डको ‘निरन्तरतामा क्रमभङ्ग’ प्रशंसा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गगन थापाको नेतृत्वलाई ‘निरन्तरतामा क्रमभङ्ग’ का रूपमा चित्रित गरे ।

थापाले कांग्रेसलाई नयाँ इतिहासतर्फ डोर्याएको भन्दै प्रचण्डले उनलाई बधाई दिए । उनले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्रीका रूपमा काम गरेका थापालाई त्यतिबेलादेखि नै देशको नेतृत्व गर्न सक्ने व्यक्तिका रूपमा हेरेको स्मरण गरे । प्रचण्डले थापालाई अघि बढ्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताए ।

तर, प्रचण्डको सम्बोधनमा अर्को महत्वपूर्ण पक्ष पनि थियो, नयाँ र पुरानो पुस्ताबीच विभाजन सिर्जना नगरी दुवै पुस्तालाई समेटेर अघि बढ्नुपर्ने उनको आग्रह । यसले कांग्रेसको पुस्तान्तरण बहसमा ‘पुरानो पुस्ताको पूर्ण बहिर्गमन’ भन्दा ‘पुस्ता सहकार्य’ को बाटो खोज्नुपर्ने संकेत जस्तो देखिन्छ ।

एमाले , कांग्रेससँग सहकार्यको संकेत

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिको पक्षमा कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताए ।

देशमा बढ्दो प्राकृतिक विपत्ति, जलवायु परिवर्तनको जोखिम र लोकतन्त्रको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले राष्ट्रियताको प्रश्नमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए ।

उनको सम्बोधनमा विगतमा लोकतन्त्रका लागि विभिन्न राजनीतिक शक्ति मिलेको इतिहास स्मरण गर्दै पुनः सामूहिक रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

राजेन्द्र लिङ्देनको प्रश्न, समस्या व्यक्ति मात्रै होइन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने नेपाली राजनीतिमा समस्या केवल व्यक्तिमा सीमित नरहेको तर्क गरे । जनतामा नेता र राजनीतिप्रतिको वितृष्णा अझै कायमै रहेको र राजनीतिक अवस्था झन् जटिल बन्दै गएको उनको भनाइ थियो । लङ्देनले ‘मान्छे फेरेर मात्रै समस्या समाधान नहुने’ भन्दै शासन व्यवस्था र संविधानमै समस्या रहेको दाबी गरे ।

बाबुरामको संकेत स् पुरानो ढाँचा अब पर्याप्त छैन

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले २१औँ शताब्दीको बदलिँदो विश्व परिवेशअनुसार राजनीतिक दलहरूले आफ्नो शैली र संरचना परिवर्तन गर्नुपर्ने बताए । तीव्र रूपमा बदलिरहेको विश्वमा राजनीतिक दलहरू पुरानै ढाँचामा सीमित भएर बस्न नसक्ने उनको भनाई थियो ।

अधिकारको प्रश्नमा थारु प्रतिनिधित्व

राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले संविधानमा अधिकार सुनिश्चित भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको प्रश्न उठाए ।

उनले संविधान निर्माणमा कांग्रेसको भूमिकाको प्रशंसा गर्दै संविधानमा लेखिएका अधिकार व्यवहारमै सुनिश्चित हुनुपर्ने बताए । उनले कांग्रेस सभापति गगन थापासमक्ष थारु समुदायको राज्यका महत्वपूर्ण निकायमा प्रतिनिधित्वबारे प्रत्यक्ष प्रश्नसमेत गरे ।

महाधिवेशनको केन्द्रमा युवा पुस्ता

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको ठूलो अपेक्षा भने युवा पुस्ताको बढ्दो सहभागिताप्रति देखिन्छ । पार्टीको संगठन र नेतृत्वमा नयाँ पुस्तालाई पर्याप्त अवसर दिनुपर्ने आवाज महाधिवेशन प्रतिनिधिहरूबाट उठेको छ । महामन्त्रीका उम्मेदवार डा।सन्तोष उपाध्यायले १५औँ महाधिवेशनलाई नेपाली राजनीतिमा परिवर्तनको बिगुल फुक्ने अवसरका रूपमा व्याख्या गरेका छन् ।

उनका अनुसार कांग्रेसले विगतमा राजनीतिक तथा राज्यसत्ताको नेतृत्व गरे पनि पछिल्लो समय आफ्नो राजनीतिक लय गुमाएको छ । त्यो लय पुनः स्थापित गर्न महाधिवेशन निर्णायक बन्नुपर्ने उनको धारणा छ ।

पत्रकारको नजरमा , कांग्रेसले अब आफ्नो ‘स्ट्यान्ड’ स्पष्ट गर्नुपर्ने

महाधिवेशनको राजनीतिक अर्थबारे पत्रकार जगत नेपालले अहिलेको राजनीतिक तरलतालाई विशेष रूपमा औँल्याएका छन् ।

ठूलो बहुमतको सरकार भए पनि संसद् प्रभावकारी बन्न नसकेको र आगामी राजनीति कुन दिशामा जाने भन्ने स्पष्ट नभएको अवस्थामा कांग्रेसले विपक्षी दलका रूपमा आफ्नो राजनीतिक धारणा प्रस्ट पार्नुपर्ने आवश्यकता औँल्याए ।

आठ दशक लामो इतिहास बोकेको कांग्रेसले महाधिवेशनबाट गर्ने निर्णयले पार्टीको मात्र नभई नेपालको भावी राजनीतिको दिशासमेत प्रभावित पार्न सक्ने उनको विश्लेषण छ ।

पत्रकार दामोदरप्रसाद दवाडीले पनि बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बीच देशभरबाट प्रतिनिधि र शुभेच्छुकहरू काठमाडौं आइपुग्नुले कांग्रेसप्रतिको ऐतिहासिक आकर्षण अझै कायम रहेको देखाएको बताए ।

निष्कर्ष , महाधिवेशनको सफलता नेतृत्वमा होइन, दिशामा मापन हुनेछ

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहले एउटा महत्वपूर्ण प्रश्न अगाडि सारेको छ, ‘कांग्रेसले केवल नेतृत्व बदल्ने हो कि राजनीतिक शैली पनि बदल्ने हो ’ रु

देउवाको अनुपस्थितिले पुरानो नेतृत्वसँगको सम्बन्ध र आन्तरिक एकताको प्रश्न उठाएको छ । गगन थापाको सम्बोधनले पुस्तान्तरण र राजनीतिक संस्कार परिवर्तनको आवश्यकता औँल्याएको छ । प्रचण्डले नयाँ र पुरानो पुस्ताबीच सहकार्यको सन्देश दिएका छन् भने एमाले, रास्वपा, राप्रपा र अन्य दलका नेताहरूले लोकतन्त्र, राजनीतिक स्थिरता, राष्ट्रिय सहमति र शासन व्यवस्थामाथि आ–आफ्ना प्रश्न उठाएका छन् ।

यस अर्थमा १५औँ महाधिवेशन कांग्रेसका लागि केवल नयाँ पदाधिकारी चयन गर्ने प्रक्रिया नभएर यो कांग्रेसले आफ्नो विगतलाई कसरी हेर्छ, वर्तमान राजनीतिक संकटलाई कसरी बुझ्छ र आगामी नेपालको राजनीतिमा आफूलाई कुन भूमिकामा स्थापित गर्न चाहन्छ भन्ने निर्धारण गर्ने अवसर पनि हो ।

महाधिवेशनबाट युवा नेतृत्वको प्रतिनिधित्व बढ्यो, आन्तरिक विवाद व्यवस्थापन भयो र विपक्षी दलका रूपमा स्पष्ट राजनीतिक धारणा निर्माण भयो भने यसले कांग्रेसलाई नयाँ ऊर्जा दिन सक्छ । तर नेतृत्व परिवर्तन मात्र भयो र पुरानै राजनीतिक संस्कार दोहोरियो भने ‘परिवर्तन’को नाराले अपेक्षित अर्थ नदिन सक्छ ।

त्यसैले कांग्रेसको १५औँ महाधिवेशनको वास्तविक परीक्षा कसले नेतृत्व पायो भन्नेमा भन्दा नेतृत्वले कांग्रेसलाई कुन दिशामा लैजान्छ भन्नेमा हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निगमको मुख्य समस्या महँगो ब्याज, सरकारबाटै उठ्न बाँकी १३ करोड ७५ लाख

काठमान्डौ,१९ असोज।नेपाल वायुसेवा निगमले महँगो ब्याजदर र ठूलो ऋण दायित्वका कारण वित्तीय संकट झेलिरहेको जनाएको छ। संसद्को अन्तर्राष्ट्रिय सaम्बन्ध तथा पर्यटन समितिको बैठकमा निमित्त महाप्रबन्धक

युवालाई कामदार होइन, उद्यमशीलताका साझेदार बनाउने कांग्रेसको नीति

काठमाडौं ,१९ असोज। नेपाली कांग्रेसले मुलुकको आर्थिक विकासको केन्द्रमा विदेशमा अवसर खोजिरहेको युवालाई राख्दै उनीहरूलाई श्रम बजारका कामदार मात्र नभई उद्यमशीलता र सम्पत्ति सिर्जनाका साझेदार

कांग्रेस उम्मेदवार छनोटमा कडा मापदण्डको प्रस्ताव

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धताको

झापा–इलाम सीमामा सुरक्षा निगरानी कडा

झापा,१९ असोज।  जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा चोरी–निकासी, तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको

सभापति गगन थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ। काठमाडौंको खुलामञ्चमा जारी

एकता र विपत्का कारण कार्यतालिका तल माथि भयो : गगन थापा

काठमाडौं,१९ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपत्का घटना र पार्टीभित्र बृहत्तर एकताको वातावरण निर्माण गर्ने प्रयासका कारण पार्टीको महाधिवेशन कार्यतालिका प्रभावित भएको बताउनु