दमक, २१ असोज । जेन–जी विद्रोहपछि देश सकारात्मक दिशामा गइरहेको ठान्ने नेपाली नागरिकको संख्या १७ दशमलव ५ प्रतिशत मात्रै रहेको पाइएको छ। काठमाडौं विश्वविद्यालयको नेपाली जनमत सर्वेक्षण–२०२५ अनुसार देशको दिशा नकारात्मक रहेको बताउने नागरिकको संख्या भने ७० प्रतिशत पुगेको छ।
विद्रोहअघि देश सकारात्मक दिशामा रहेको मान्नेको संख्या २३ दशमलव ७ प्रतिशत थियो। त्यस्तै, देशको अवस्था उस्तै रहेको बताउनेको संख्या घटेको छ भने नकारात्मक धारणा ६१ दशमलव ६ प्रतिशतबाट बढेर ७० प्रतिशत पुगेको छ।भौतिक पूर्वाधारको अवस्था सकारात्मक रहेको मान्ने नागरिक २३ भदौअघि ५३ दशमलव ९ प्रतिशत थिए। विद्रोहपछि यो घटेर २७ दशमलव ६ प्रतिशतमा पुगेको छ।
आर्थिक अवस्थालाई सकारात्मक मान्नेको संख्या पनि १६ दशमलव ३ प्रतिशतबाट घटेर ६ दशमलव ८ प्रतिशतमा पुगेको छ। २०२० मा यही संख्या ५६ र २०२२ मा ३१ दशमलव ३ प्रतिशत थियो। नकारात्मक धारणा राख्नेहरूमध्ये ६३ दशमलव ४ प्रतिशतले भ्रष्टाचार, ५४ दशमलव ५ प्रतिशतले गुजारा चलाउन र रोजगारी पाउन कठिनाइ, ४० दशमलव ५ प्रतिशतले कमजोर अर्थतन्त्र र ३२ दशमलव ९ प्रतिशतले मूल्यवृद्धिलाई कारण मानेका छन्।










