दमक, २१ असोज । जेन–जी आन्दोलनका घाइतेले अब झापाबाट चल्ने सार्वजनिक यातायातका साधनमा ५० प्रतिशत भाडा छुट पाउने भएका छन्।
नेपाल सरकारको मन्त्रिपरिषद्को २०८३ साल असार १८ गतेको बैठकले स्वीकृत गरेको ‘जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज’ कार्यान्वयन गर्ने क्रममा यस्तो व्यवस्था लागू गर्न लागिएको हो।
प्याकेजको बुँदा नम्बर ८ मा जेन–जी आन्दोलनका घाइतेलाई सार्वजनिक यातायातका साधनमा ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गरिएको छ।
सोही व्यवस्था कार्यान्वयनका लागि झापामा जिल्ला प्रशासन कार्यालयले पहल गरेको छ। प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको उपस्थितिमा आज सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय विर्तामोड, यातायात व्यवसायी तथा अन्य सरोकारवालाबीच भएको छलफलबाट घाइतेलाई ५० प्रतिशत भाडा छुट दिने सहमति भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको ‘घाइते परिचयपत्र’ भएका व्यक्तिले यो सुविधा पाउनेछन्।
यो छुट झापाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा मात्रै नभई लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनमा समेत लागू हुनेछ।









