दमक, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको अध्यक्षमा रामकुमार थापा पुनः निर्वाचित हुनुभएको छ। दमकमा सम्पन्न पार्टीको दोस्रो प्रदेश अधिवेशनमा थापाले आफ्ना दुई प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष पदमा पुनः बाजी मार्नुभएको हो।
अध्यक्ष पदका लागि थापासहित दुर्गा बस्नेत र विश्वमोहन चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो। निर्वाचनमा थापाले २ सय ७० मत प्राप्त गर्नुभयो।
उहाँका निकटतम प्रतिस्पर्धी दुर्गा बस्नेतले २ सय ३१ मत प्राप्त गर्नुभयो। थापाले बस्नेतलाई ३९ मतले पछि पार्नुभएकोहो। अर्का प्रतिस्पर्धी विश्वमोहनले भने ४१ मत प्राप्त गर्नुभयो।
बुधबार दमकस्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न अधिवेशनमा कुल ६ सय ४७ प्रतिनिधि सहभागी थिए। तीमध्ये ५ सय ४४ जनाले मतदान गरेका थिए।
मतदानका क्रममा ६ मत बदर भएको थियो।









