दशैँमा पर्यटन व्यवसायी

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ । तर पर्यटन व्यवसायमा आबद्ध व्यक्तिका लागि भने दशैँ–तिहारको समय व्यस्त पर्यटकीय सिजन पनि हो । मौसम अनुकूल हुने यही समयमा पर्यटकलाई सेवा दिनुपर्ने भएकाले पर्यटन व्यवसायीले अन्य पेसामा आबद्ध व्यक्तिले जस्तो फुर्सदमा चाडपर्व मनाउन पाउँदैनन् । नेपाल पर्यटन बोर्डका कार्यकारी समितिका पूर्वउपाध्यक्ष तथा पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘कमल’ पर्यटन व्यवसायमा आबद्ध व्यक्तिका लागि दशैँको अनुभव फरक हुने बताउँनु भयो ।

होटल, ट्रेकिङ र ट्राभल कम्पनी सञ्चालन गर्ने व्यवसायीले पर्यटकको व्यवस्थापन र सेवामा खटिनुपर्ने भएकाले चाडपर्वमा पनि कामलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । ‘पर्यटकीय सिजन भएकाले हामीले दशैँमा पनि काम गर्नुपर्छ । मौसम राम्रो हुने समयमा पर्यटक अपरेसनमा लाग्नुपर्ने हुन्छ । अरू पेसामा आबद्ध व्यक्तिले जस्तो फुर्सद लिएर दशैँ मनाउन हामीले पाउँदैनौँ,’ सापकोटाले भन्नु भयो । उहाँका अनुसार होटलका कर्मचारीसँग दशैँ मनाउने कार्यक्रम पहिल्यै आयोजना गरे पनि मुख्य चाडका दिन व्यवसाय सञ्चालनमै ध्यान दिनुपर्ने हुन्छ । पर्यटकलाई सेवा दिनुपर्ने भएकाले आफूले पनि दशैँमा उपत्यका छाडेर बाहिर जान नसक्ने उहाँले बताउनु भयो । पर्यटकलाई भेट्नुपर्ने समय मिलाएर टीका लगाउने, आफन्त भेट्ने र केही समय रमाइलो गर्ने भएपनि चाडपर्वमा लामो बिदा लिन कठिन हुने उहाँको अनुभव छ ।

 

पर्यटन व्यवसायीले परिवारसँग समय बिताउन र घुमफिर गर्न पर्यटकको चाप कम हुने अफसिजन रोज्ने गरेका छन् । सापकोटाका अनुसार जनवरी, फेब्रुअरी, जुन, जुलाई र अगस्टजस्ता महिनामा पर्यटकको गतिविधि तुलनात्मक रूपमा कम हुने भएकाले त्यतिबेला परिवारलाई समय दिने र देशभित्र वा विदेशमा घुम्न जाने योजना बनाइन्छ ।

बाल्यकालको दशैँ र अहिलेको दशैँ

सापकोटाको अनुभवमा दशैँ मनाउने शैलीमा व्यक्तिगत जीवन र देशको आर्थिक अवस्थासँगै परिवर्तन आएको छ । सामान्य आर्थिक अवस्था भएको परिवारमा हुर्किएका उहाँका लागि बाल्यकालमा दशैँ भनेको नयाँ लुगा लगाउने, मासु खाने र पिङ खेलेर रमाइलो गर्ने विशेष अवसर थियो ।‘सानो हुँदा दशैँमा मासु खाने र नयाँ कपडा लगाउने कुराले धेरै खुसी दिन्थ्यो । बुबाले दशैँमा नयाँ कपडा किनिदिनुहुन्छ भनेर पर्खिन्थ्यौँ,’ उहाँले सम्झिए । तर अहिले व्यवसाय सञ्चालन गर्ने अवस्थामा पुगेपछि दशैँका लागि छुट्टै लुगा किन्ने वा मासु खाने विषय प्राथमिकतामा नरहेको उहाँले बताउनु भयो । आवश्यकताअनुसार वर्षभरि नै लुगा किन्ने र खानपिन गर्ने अवसर बढेकाले बाल्यकालको दशैँ र अहिलेको दशैँको अनुभव फरक भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार यो परिवर्तन व्यक्तिगत जीवनमा आएको जिम्मेवारीसँगै देशको विकास र जीवनस्तरमा आएको परिवर्तनसँग पनि जोडिएको छ । बाल्यकालमा आफ्नै इच्छाअनुसार रमाइलो गर्न पाइने भए पनि अहिले परिवार, व्यवसाय र संस्थागत जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले समय व्यवस्थापन गर्नुपर्छ ।

चाडपर्व पनि पर्यटनको उत्पादन

सापकोटाले नेपाली चाडपर्वलाई पर्यटक आकर्षित गर्ने सम्भावनायुक्त पर्यटन उत्पादनका रूपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँका अनुसार नेपाल आउने पर्यटक हिमाल, प्राकृतिक दृश्य र ऐतिहासिक सम्पदा हेर्न मात्र नभई नेपाली समाज, संस्कृति, धर्म र परम्पराको अनुभव लिन पनि रुचाउँछन् ।‘पर्यटक आफैँ एउटा अवसर हो । हामीले नेपाली चाडपर्वलाई पनि पर्यटनको उत्पादनका रूपमा लिनुपर्छ,’ उहाँले भन्नु भयो, ‘दशैँमा टीका लगाउने, पूजा–आजा गर्ने र हामीले चाडपर्व कसरी मनाउँछौँ भन्ने कुरा पर्यटकलाई देखाउन र बुझाउन सकिन्छ ।’उहाँका अनुसार नेपालका विभिन्न जातजाति, भाषा, संस्कृति, मठमन्दिर, हिमाल र चाडपर्व पर्यटकका लागि आकर्षण हुन् । पर्यटकले कुनै ठाउँ हेरेर मात्र नभई त्यहाँको जीवनशैली र संस्कृतिको अनुभव लिएर फर्कन चाहने भएकाले यस्ता गतिविधिले उनीहरूको भ्रमणलाई थप अर्थपूर्ण बनाउन सक्छन् ।

 

त्यसैले पर्यटन व्यवसायीले चाडपर्वको समयमा पर्यटकलाई नेपाली संस्कृतिसँग परिचित गराउने कार्यक्रम र गतिविधि विकास गर्नुपर्ने उहाँको सुझाव छ । यसले पर्यटकलाई नयाँ अनुभव दिनुका साथै नेपालको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।सापकोटाले विजयादशमीको अवसरमा सबै नेपालीलाई सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिँदै चाडपर्वलाई नेपाली संस्कृति र पर्यटन प्रवद्र्धनसँग जोड्न सकिने सम्भावनामा ध्यान दिन आग्रह गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय