दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा गाउँपालिका–३) का पाँच परिवार, साविक सोनपुर गाविस–५ ‘क’ (हाल लमही नगरपालिका–३) का दुई परिवार र साविक लालमटिया गाविस–३ ‘त’ (हाल राप्ती गाउँपालिका–१) का एक भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गरिएको हो।लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गर्न नसकेका स्थानीय लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गरी उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरण कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाइएको समितिले जनाएको छ।










