धनकुटा,१९ कार्तीक । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको १ हजार ५ सय ९६ किलो गाँजा र १ हजार ७ सय १६ ट्याब्लेट प्रतिबन्धित लागूऔषध नष्ट गरेको छ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइले विभिन्न मितिमा बरामद गरेका लागूऔषध अनुसन्धान प्रक्रिया पूरा भएपछि नष्ट गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार बरामद लागूऔषध धनकुटा नगरपालिका–९ स्थित मूलघाटमा रहेको तमोर नदी किनारमा पुर्याएर जलाइएको हो।
बुधबार दिउँसो प्रहरी टोलीले गाँजा र प्रतिबन्धित ट्याब्लेट जलाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लागूऔषध नष्ट गर्न जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक मयंक मिश्राको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।










