दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा १ देखि ३ सम्मका विद्यार्थीले गीत, नृत्य, नाटक, कविता वाचन तथा वक्तृत्वकलालगायतका प्रस्तुति दिएका थिए।कक्षामा अध्ययन गर्ने विद्यार्थीमध्ये उत्कृष्ट विद्यार्थी मात्र मञ्चमा उक्लिएका थिएनन्। हरेक विद्यार्थीले आफ्नो प्रतिभा देखाउन सक्नुपर्छ र मञ्चमा उभिने अवसर पाउनुपर्छ भन्ने सोचका साथ सबै विद्यार्थीलाई पालैपालो समूह बनाएर आ–आफ्नो प्रस्तुति राख्न लगाइएको थियो।
तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा तिहारको सन्देश दिने विभिन्न प्रस्तुतिसमेत समावेश गरिएका थिए। कक्षा ३ मा अध्ययनरत विद्यार्थीले तिहारको महत्त्व र सन्देश झल्किने नाटक प्रस्तुत गरेका थिए भने अन्य विद्यार्थीले तिहारसम्बन्धी कविता वाचन तथा मन्तव्य राखेका थिए।तिहारमा खेलिने देउसी–भैलो पनि विद्यार्थीले मञ्चमै प्रस्तुत गरेका थिए। यसले आफ्नो संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्दै लैजानुपर्छ भन्ने सन्देश विद्यालयस्तरबाटै दिन खोजिएको देखिन्थ्यो।
प्ले ग्रुपदेखि कक्षा ६ सम्म अध्यापन हुने यस विद्यालयमा करिब ७ सय विद्यार्थी अध्ययनरत छन्। तर, आज सम्पन्न कार्यक्रममा भने कक्षा १ देखि ३ सम्मका विद्यार्थी र उनीहरूका अभिभावकलाई आमन्त्रण गरिएको थियो।विद्यालयले कक्षागत रूपमा अभिभावक भेटघाट तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउँदै आएको विद्यालयकी सञ्चालिका तथा प्रिन्सिपल यमुना काकी बुढाथोकीले जानकारी दिनुभयो।








