झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार ५५७ किलो गाँजा बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो। इलाका प्रहरी कार्यालय काँकरभिट्टा र अस्थायी प्रहरी पोस्ट इँटाभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चिया बगानमा खानतलासी गर्दा १३ वटा पोकामा राखिएको गाँजा फेला पारेको थियो।
प्रहरीका अनुसार प्लास्टिकसहित गाँजाको कुल तौल ५६२ किलो ८०० ग्राम रहेको छ। प्लास्टिक हटाएपछि गाँजाको वास्तविक तौल ५५७ किलो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बेवारिसे अवस्थामा उक्त गाँजा बरामद भएको जानकारी दिनु भयो। गाँजा कसले र कुन प्रयोजनका लागि चिया बगानमा लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








