काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने गरिन्छ । धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान् धनवन्तरी अमृतको घडा, शङ्ख, चक्र र जडीबुटीसहित प्रकट हुनु भएको थियो । सोही दिनको सम्झनामा धनवन्तरी जयन्ती मनाउने परम्परा रहेको छ ।
आयुर्वेद शब्द ‘आयु’ र ‘वेद’ मिलेर बनेको हो । यसको अर्थ जीवनसम्बन्धी ज्ञान भन्ने हुन्छ । प्राचीन वैदिक चिकित्सा पद्धतिका रूपमा परिचित आयुर्वेदमा विभिन्न जडीबुटी तथा प्राकृतिक स्रोतको प्रयोगबाट रोगको उपचार र स्वास्थ्य संरक्षण गर्ने गरिन्छ । आयुर्वेद चिकित्सा पद्धतिसँग सम्बन्धित चिकित्सक, विद्यार्थी तथा संस्थाहरूले यस दिनलाई विशेष महत्त्वका साथ मनाउने गर्नु भएको छ ।नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले धनवन्तरी जयन्तीको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको बताँउनु भयो ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले धनवन्तरी जयन्ती यमपञ्चकसँग पनि जोडिएको बताँउनु भयो । उहाँका अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने पर्वलाई यमपञ्चक भनिन्छ ।
उहाँले भन्नु भयो, ‘वास्तवमा यो तिहार, दीपावली जसलाई हामी यमपञ्चक भनेर भन्दछौँ । पाँच दिनसम्म मनाइन्छ यो । विशेषगरी कार्तिक कृष्ण त्रयोदशीदेखि चतुर्दशी, औँसी अनि त्यसपछाडि कार्तिक शुक्ल पक्षको प्रतिपदा र द्वितीया गरी पाँच दिनसम्म मनाइने भएको हुनाले यसलाई यमपञ्चक भनेर भनिन्छ ।’यमपञ्चक नाम रहनुको धार्मिक कथाबारे प्रस्ट पार्दै उहाँले यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा पाँच दिनसम्म उहाँको घरमा बसेको प्रसङ्ग सुनाँउनु भयो ।
उहाँले भन्नु भयो, ‘यमराजले आफ्नी बहिनी यमुनाको घरमा गएर पाँच दिनसम्म आनन्दसँग यो पर्व मनाउनको लागि आफ्ना सम्पूर्ण कामकाजहरूलाई चटक्क छोडेर बस्नुभएको थियो। यमुनाले धेरै अनुनय विनय गरेपछि यमराज आफ्नो कामकाजको व्यस्तताका बाबजुद बहिनीको घरमा आउनुभयो र पाँच दिनसम्म बस्नुभयो। त्यसैले यसलाई यमपञ्चक भनेर भनिन्छ।’
यमपञ्चकको पहिलो दिन काग तिहारका रूपमा मनाइने र सोही दिन धनवन्तरी जयन्ती पनि पर्ने उहाँले बताँउनु भयो । पछिल्लो समय धनतेरस मनाउने चलनसमेत बढ्दै गएको उहाँको भनाइ छ ।
धनवन्तरीको उत्पत्तिबारे धार्मिक मान्यता उल्लेख गर्दै ढकालले भन्नु भयो, ‘धन्वन्तरी भनेको भन्दाखेरि समुद्र मन्थन गर्दाखेरि जुन देवता र दैत्यहरूको युद्धमा समुद्र मन्थन गरेर अमृत प्राप्तिका लागि प्रयास गरियो, त्यसको अन्तिममा धनवन्तरी भगवान् अमृतको घडा लिएर आउनुभएको हो। अमृत प्राप्तिका लागि उहाँको प्रकट भएको दिन नै आजको त्रयोदशी तिथि हो। त्यही भएर यसलाई धनवन्तरी जयन्ती भनेर भनिन्छ।’
उहाँका अनुसार आयुर्वेदका प्रवर्तक तथा चरक, सुश्रुतलगायतका प्राचीन आयुर्वेदाचार्यहरूले भगवान् धनवन्तरीलाई अमृत र आयुर्वेदसँग जोडेर महत्त्व दिनु भएको छ । मानव जीवनको रक्षा र स्वास्थ्य संरक्षणसँग सम्बन्धित आयुर्वेदको महत्त्वलाई स्मरण गर्दै धनवन्तरी जयन्ती मनाउने गरिन्छ ।










