मोरङ,२७ कार्तीक । मोरङका जंगल क्षेत्रमा लगातार शव फेला पर्न थालेका छन्। यस्ता घटनाले जिल्लाको सुरक्षा अवस्थाबारे चासो बढाएको छ।विराटनगरका रेस्टुरेन्ट व्यवसायी मनोज खत्री जंगलमा मृत फेला परेको घटनाको अनुसन्धान जारी रहेकै वेला केराबारी गाउँपालिका– २, फैबास्थित जंगलमा एक महिलाको शव फेला परेको छ।प्रहरीका अनुसार बिहीबार साँझ घरबाट करिब एक किलोमिटर टाढा जंगलमा अन्दाजी ३१–३२ वर्षीया पार्वती लिम्बूको शव फेला परेको हो। स्थानीयले जंगलभित्र अर्धनग्न अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी बेलबारीका अनुसार लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको छ। उहाँको कम्मरमुनिको भागमा कपडा छैन। शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन। घटनास्थलमा तत्काल शंकास्पद वस्तुसमेत पनि तत्काल फेला परेको छैन।स्थानीयले प्रहरीलाई दिएको जानकारीअनुसार विवाहित लिम्बूको पति–पत्नीबिच पटकपटक विवाद र झगडा हुने गरेको थियो। तर, पारिवारिक विवाद नै मृत्युको कारण हो वा होइन भन्नेबारे प्रहरीले पुष्टि गरिसकेको छैन।मृत्युको कारण र घटनाको प्रकृति पत्ता लगाउन फरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलमा पठाइएको मोरङका एसपी कवित कटवालले जानकारी दिनु भयो ।
‘घटनास्थलको वस्तुगत अवस्था जाँच र शव परीक्षणको प्रतिवेदनपछि मात्र थप अनुसन्धान गरेर मृत्युको रहस्य पत्ता लगाउन सहज हुन्छ,’ एसपी कटुवालले भन्नु भयो। विराटनगरका रेस्टुरेन्ट व्यवसायी खत्रीको शव पनि जंगलमै फेला परेको थियो।यसअघि विराटनगरको पिपलचोक र गोल्छाचोक अनि काठमाडौंमा ‘पिजफायर’ रेस्टुरेन्ट सञ्चालन गर्दै आँउनु भएको सफल व्यवसायी ५१ वर्षीय मनोज खत्रीको शव पनि केराबारी गाउँपालिका– ९ स्थित धारापानी जंगलमा शनिबार अपराह्न रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो।
शुक्रबार दिउँसो स्कुटर लिएर घरबाट निस्किनु भएको खत्री त्यसपछि परिवारको सम्पर्कमा आँउनु भएको थिएन। उहाँको मृत्युको कारण खुलेको छैन। तर, प्रहरीले खत्रीको रेस्टुरेन्टमा काम गर्ने एक युवतीलाई सोही दिन पक्राउ गरेर भोलिपल्टै आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।मोरङको पूर्व–पश्चिम एसियन हाईवे क्षेत्र उत्तरमा रहेको कानेपोखरी र बेलबारी अनि लेटाङको सिमानामा पर्ने उत्तर–दक्षिण र पूर्व–पश्चिम फैलिएको घटना जंगलभित्र पटकपटक बेवारिसे शव फेला पर्दै आएका छन् ।कोही झुन्डिएको अवस्थामा फेला पर्ने गरेका छन् भने कसैको हत्या गरेर फालिने गरिएको छ। तर, जंगल क्षेत्रमा भएका यी मृत्यु र हत्याका सबै घटनाको वास्तविकता प्रहरीले पत्ता लगाउन सक्ने गरेको छैन। कति शवको त सनाखतसमेत हुन सक्दैन।










