झापा, २९ कात्तिक । झापाको ५३ ठाउँमा सामूहिक छठ पूजाको आयोजना गरिएको छ ।सबैभन्दा धेरै जमघट भद्रपुरको मेची नदीमा हुने भएको छ । जनकपुरपछि देशकै ठूलो छठ पूजा मेचीमा हुने गरेको छ । त्यस्तै बिरिङ ,कन्काई , रतुवा , सानोमाई , फूलमती , निन्दा , अधुवालगायतका खोला किनारमा छठ पूजा आयोजना गरिएको छ । जिल्लाका ५३ ठाउँमा सामूहिक छठ पूजा भइरहेको र त्यसमध्ये २१ ठाउँमा ठूलो छठ पूजा आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट २१ ठाउँको छठ पूजाका लागि अनुमति लिइएको छ ।
छठ पूजामा चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नै सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताँउनु भयो । छठ पूजामा १ हजार ५६ जना नेपाल प्रहरी र ४३८ जना सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनु भयो ।छठ पूजाको भीडभाडमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । समन्वयात्मक ढङ्गबाट दृश्य र अदृश्य (सादा पोशाक ) दुवै रूपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताँउनु भयो । भद्रपुरस्थित छठ घाटमा सशस्त्र प्रहरीले हेल्थ डेस्क सञ्चालन गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका विपद उद्धार टोली समेत तयारी अवस्थामा रहेका छन् । केही छठ घाटहरूमा तालिम प्राप्त कुकुर , ड्रोनको समेत प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनु भयो ।
उहाँले साउन्ड सिस्टम लगायत ध्वनि यन्त्रहरूको प्रयोग गर्दा सामाजिक सद्भाव र शिष्टता कायम राख्न तथा ध्वनि प्रदूषण नहुनेतर्फ सचेत बन्न आग्रह गर्नु भएको छ । रातभर सञ्चालन हुने पूजा कार्यक्रममा सहभागी व्रतालुहरू तथा सरोकारवाला सबैको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन , लैङ्गिक हिंसाजन्य गतिविधि तथा दुर्व्यवहार , चोरी , गरगहना लुटपाट जस्ता अवाञ्छित हर्कत नियन्त्रण गर्न सुरक्षा निकायहरू समन्वयात्मक ढंगबाट परिचालित भएकाले उमङ्गका साथ पर्वमा सामेल हुन उहाँले सबैमा अनुरोधसमेत गर्नु भएको छ ।










