काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी रहेका थिए । सहभागी आठवटै टोलीलाई पराजित गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स च्याम्पियन बन्यो ।सुदूरपश्चिमले फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक एनपीएलको च्याम्पियन भयो । यसअघिका दुबै संस्करणमा फाइनलमा चुकेको सुदूरपश्चिम यसपटक भने उपाधि रक्षा गर्न सफल भयो । दोस्रो संस्करणमा लुम्बिनीसँग नै फाइनलमा पराजित भएको सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग स्तब्ध हुन पुगेको थियो ।
सुदूरपश्चिमले पहिलोपटक उपाधि रक्षा गर्दा नयाँ रेकर्ड पनि बनाएको छ । एनपीएल इतिहासमै १० विकेटको अन्तरले च्याम्पियन बन्ने टोली बनेको छ । साथै फाइनलमा शतक प्रहार गर्ने खेलाडी पनि सुदूरपश्चिमका जर्ज मुन्सी बन्नु भएको छ ।हालसम्म कुनै पनि खेलाडीले फाइनलमा शतक हिर्काउन सकेका थिएनन् । मुन्सीले उक्त नयाँ रेकर्ड बनाँउनु भयो ।सुदूरपश्चिमले उपाधिसँगै १ करोड ५० लाख पुरस्कार समेत पायो । उपविजेता बनेको लुम्बिनीले ८० लाखमा चित्त बुझायो । तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख पुरस्कार पायो ।
खेलाडीले जिते महत्वपूर्ण पुरस्कार
यो सिजनको महत्वपूर्ण तथा ठुलो पुरस्कारका रुपमा कार चितवनका बलर रिजन ढकालले जित्नु भएको छ । कार उत्कृष्ट नेपाली खेलाडी बन्नेलाई दिइने गर्दछ । प्रतियोगितामा १७ विकेट लिएका रिजनले कार जित्नु भएको हो । यसअघिका संस्करणमा कारको पुरस्कार सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र लुम्बिनीका रोहितकुमार पौडेलले जित्नु भएको थियो । रिजनले कारसँगै सर्वाधिक विकेट लिने बेस्ट बलर बनेर मोटरसाइकल समेत जित्नु भएको छ । उहाँले गोल्डेन क्याप समेत पाँउनु भयो ।सुदूरपश्चिमका कप्तान समेत रहेका दीपेन्द्रसिंह ऐरी प्लेयर अफ दी टुनामेन्ट बन्नु भयो । उहाँले प्रतियोगितामा व्यक्तिगत २१८ रन बनाउनुका साथै ७ विकेट हात पार्नु भएको थियो । टिमलाई च्याम्पियन समेत बनाएका दीपेन्द्रले प्लेयर अफ दी टुनामेन्ट बन्दै पुरस्कार स्वरुप ५ लाख हात पार्नु भयो ।
प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली खेलाडीका रुपमा विराटनगर किङ्सका लोकेश बमले पनि मोटरसाइकल जित्नु भयो। लोकेशले प्रतियोगितामा २४२ रन जोडनु भएको थियो ।जनकपुरका १६ वर्षीया राहुल यादव उदयीमान खेलाडी घोषित हुनु भयो । उहाँले यो सिजनमा १२ विकेट हात पार्नु भएको थियो । राहुलले पनि मोटरसाइकल पुरस्कार पाँउनु भयो ।पोखरा एभेन्जर्सका युवराज सिंह सामराले सर्वाधिक रन बनाउने खेलाडी बन्नु चयो। उहाँले २९४ रन हिर्काउनु भएको थियो । बेस्ट ब्याटर बनेका सामराले २ लाख पुरस्कार र प्लाटिनम क्पाप पनि पाँउनु भयो ।चितवनका कमिल मिसराले इनर्जेटिक प्लेयर अफ दी टुनामेन्ट बन्दै २ लाख जित्नु भयो । मिसराले एक शतकसहित १८९ रन जोडनु भएको थियो ।
व्यक्तिगत र टिमको उच्च स्कोरको रेकर्ड
जारी सिजनमा सुदूरपश्चिमका विदेशी खेलाडीले एकै इनिङमा उच्च स्कोर बनाउने खेलाडी बन्नु भयो। उहाँले फाइनलमा लुम्बिनी विरुद्ध ५४ बलमा १२५ रनमा अविजित रहनु भयो । एनपीएल इतिहासकै एकै इनिङमा बनेको व्यक्तिगत उच्च स्कोरको समेत हो । यसअघि यसै सिजनमा चितवनका कामिल मिसराले १२० रन बनाँउनु भएको थियो ।प्रतियोगितामा उच्च स्कोर बनाउने टिममा पोखरा रहेको छ । पोखराले काठमाडौंका विरुद्ध २२४ रन बनाएको थियो । एनपीएल इतिहासकै यो उच्च स्कोर बन्न सफल भयो ।लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल एसिसि स्पिरिट अफ क्रिकेट अवार्ड जित्नु भयो । क्रिकेट खेलमा उच्च खेल भावना प्रदर्शन गर्ने खेलाडी वा टोलीलाई सम्मान गर्न यो अवार्ड दिने गरिन्छ ।
बने ३ शतक र २७ अर्धशतक
जारी सिजनमा ३ शतक र २७ अर्धशतक प्रहार भए । शतक हिर्काउने खेलाडी सबै विदेशी रहेका छन् । काठामाडौंकाविरुद्ध पोखराका कुशल भुर्तेल ९९ रनमा आउट हुनु भएको थियो । यो नै नेपाली ब्याटरले एकै इनिङमा बनाएको हालसम्मको उच्च स्कोर हो ।फाइनलमा सुदूरपश्चिम रोयल्सका जर्ज मुन्सीले लुम्बिनी लायन्सविरूद्ध ४९ बलम शतक हिर्काउनु भयो । जारी एनपीएलको तेस्रो तथा एनपीएल इतिहासको छैटौं शतक हो ।मुन्सीले शतकसँगै नयाँ कीर्तिमान समेत बनाँउनु भएको छ। उहाँले एकै इनिङमा व्यक्तिगत उच्च स्कोर बनाउने रेकर्ड बनाँउनु भयो । १२५ रनमा अविजित रहेका मुन्सीले हालसम्म शतक हिर्काएका सबैको रेकर्ड भंग गर्नु भएको छ।
चितवन राईनोजका कामिल मिशाराको नाममा अविजित १२० रनको रेकर्ड समेत टुट्यो । यसअघि लिग चरणको खेलमा चितवन राईनोजका कामिल मिशारालेले काठमाडौं गोर्खाजकाविरूद्ध शतक प्रहार गर्नु भएको थियो । उहाँले ५३ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा शतक पूरा गर्नु भयो । साथै पोखरा एभेन्जर्सका युवराज सामराले शतक बनाँउनु भएको थियो । सामराले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गर्नु भएको थियो। सामरा १०२ रनमा आउट हुनु भयो ।पहिलो संस्करणमा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गर्नु भएको थियो । उहाँले सो खेलमा अविजित १ सय ४ रन बनाँउनु भएको थियो । दोस्रो संस्करणमा पोखराकै एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध नै ५४ बलमा शतक बनाँउनु भएको थियो, उहाँले सो खेलमा ५८ बलमा अविजित १ सय ८ रन बनाँउनु भएको थियो ।
गत संस्करणमा नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गर्नु भएको थियो, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो ।यसैबीच जारी संस्करणमा २७ अर्धशतक जोडिएका छन् । जसमध्ये सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ अर्धशतक प्रहार गर्नु भएको छ ।यस्तै पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै युवराज सामरा, चितवन राइनोजका रवि बोपरा,चितवन राईनोजकै डेभिड मलान, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई÷दुई अर्धशतक हिर्काउनु भएको छ ।
विराटनगरका इमरान शेख,आन्द्रे रसेल, चरिथ असलङ्का, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर,हुसैन तलत, सुदूरपश्चिमका थारिन्दु रत्नाएके, लुम्बिनी लायन्सका निरोशन डिककोइलाले एक÷एक अर्धशतक हिर्काउनु भएको थियो।
एनपीएलमा आइसिसिको पनि साथ
तेस्रो संस्करणको एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसिको पनि साथ रह्यो । आइसिसिले यो सिजनको एनपीएललाई टि–२० लिस्ट ए को मान्यता समेत दियो । एनपीएलका सबै खेलहरूले आधिकारिक टी–२० मान्यता पाएपछि खेलाडीहरूले बनाउने रन, लिने विकेट र अन्य कीर्तिमानहरू उनीहरूको आधिकारिक अन्तर्राष्ट्रिय करियरको तथ्याङ्कमा गणना समेत भए ।यसका साथै यसअघि आईसीसीको पूर्ण मान्यता नहुँदा टेष्ट राष्ट्रका सक्रिय खेलाडीहरू अनुबन्ध गर्न सीमितता थियो । अब यो फुकुवा भएसँगै विश्वका प्रख्यात र टेष्ट खेल्ने राष्ट्रका सक्रिय क्रिकेटरहरू पनि सहजै एनपीएलमा आउन बाटो खुलेको थियो ।
एनपीएल खेल्न विश्व क्रिकेटका स्टारहरु नेपालमा पहिलोपल्ट आए् । आक्रामक ब्याटिङका लागि परिचित वेस्ट इन्डिजका आन्द्रे रसेलसँगै अस्ट्रेलिया डेविड वार्नर, दक्षिण अफ्रिका डेविड मिलर, जिम्वावेका सिकन्दर रजा, र पूर्वविश्व नम्बर एक बंगलादेशी अलराउन्डर सकिब अल हसन, इंगल्याण्डका मोइन अली,डेभिड मलानलगायतका चर्चित क्रिकेटरले एनपीएल खेले । जसले गर्दा एनपीएलको उचाई अन्र्तराष्ट्रिय जगतमा पनि फैलियो ।
पहिलोपटक डीआरएस लागू
नेपालमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि लागू गरियो । मैदानमा रहेका अम्पायरको निर्णयप्रति असहमति जनाउँदै टोलीहरूले पुनरवलोकन (रिभ्यु) माग गर्न सके । प्रविधि र जाँच हुने विषयः यसमा एलबीडब्लूका लागि थ्रिडी बल ट्र्याकिङ, ब्याटमा बल छोएको पत्ता लगाउन आर्टिफिसियल इन्टेलिजेन्स, तथा रनआउट, स्टम्पिङ र नो–बलजस्ता निर्णयको जाँच समावेश रहेको थियो । साथै, उचाइका आधारमा वाइड बल मापन, छक्काको दूरी÷उचाइ र बलिङ तथ्याङ्क पनि यसबाट प्राप्त हुने गर्दछ ।
लिगमा आईसीसीका आचारसंहिता, नियमहरू र निष्पक्षताका मापदण्डहरू पूर्ण रूपमा लागू गरिएको छ । यसपटक एनपिएलको ब्रान्ड भ्यालु र नेपाली क्रिकेटको इज्जत अन्तर्राष्ट्रिय स्तरमा अझ उच्च बनेको छ । मिडिया राइट्समा राम्रो प्रतिस्पर्धा भएकाले क्यानको आम्दानी र लिगको व्यावसायिक पक्ष मजबुत बनेको छ ।एनपिएलको प्रत्यक्ष प्रसारण अन्तर्राष्ट्रिय स्तरमा स्टार स्पोट्र्समा हुनेछ भने नेपालमा हिमालय टिभी र ओटीटी प्लेटफर्म नेट टिभीमार्फत प्रत्यक्ष हेर्न सकिएको थियो ।
आर्थिक र पर्यटकीय गतिविधि चलायमान
एनपीएलले गर्दा नेपालको आर्थिक गतिविधि पनि चलायमान हुनुका साथै पर्यटकीय गतिविधि पनि बढेको थियो ।विदेशी खेलाडी नेपालमा खेल्न आउदा यहाँको पर्यटकीय गतिविधि पनि बढ्यो । काठमाडौंमा आवद्ध डेभिड वार्नर, कर्णाली याक्समा आवद्ध डेभिड मिलर सगरमाथको बेस क्याम्पको अवलोकन भ्रमण गरे । हेलीमार्फत बेस क्याम्प पुगेका वार्नर मिलर साच्चिकै स्वर्गको आनन्द पाएको बताएका थिए । यसका साथै एनपीएल सञ्चालन हुँदा नेपालको आर्थिक गतिविधि चलायमान भएको थियो ।
चौथो संस्करण थप भव्य र व्यवस्थित गरिने
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले तेस्रो सिजन सभ्य र भव्य रुपमा सम्पन्न भएको बताँउनु भएको छ । तेस्रो सिजन भव्य रुपमा सम्पन्न गराउनका लागि सहयोग र समन्वय गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै चौथो संस्करण थप व्यवस्थित र भव्य रुपमा आयोजना गरिने अध्यक्ष चन्दले बताँउनु भयो ।
सरकारले घोषणा गर्यो छैटौं संस्करणदेखि होम एण्ड अवेमा
नेपाल सरकारले छैटौं संस्करणको एनपीएल होम एण्ड अवेमा गर्ने घोषणा गरेको छ । हालसम्म काठमाडांै स्थित कीर्तिपुर मैदानमा मात्रै प्रतियोगिता सञ्चालन हुँदै आएको हो ।प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिने घोषणा गर्नु भएको हो । त्यसका लागि सहभागी आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने उहाँले बताँउनु भएको छ ।एनपीएलको तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्रीले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताँउनु भएको छ ।
सामाजिक सञ्जालमा घोषणा गरेअनुसार क्लबका लागि आवश्यक क्रिकेट रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ। फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइनेछ ।प्रस्तावित योजनाअनुसार आठवटै फ्रेन्चाइज क्लबका लागि छुट्टाछुट्टै रंगशाला निर्माण गरिनेछ। विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गर्ने योजना छ ।
त्यस्तै, काठमाडौं गोर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला तोकिएको छ । सरकारको यो योजनाले एनपीएललाई काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न सहरमा विस्तार गर्ने र नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ। एनपीएल तथा क्रिकेटले गर्दा सरकारको पनि पूर्वाधार निर्माणमा ध्यान पुगेको छ । जुन खेलकुदका लागि सुखद पक्ष पनि हो ।










