विराटनगर ,८ मंसिर। स्विस राजदूत डा. ड्यानियल म्युवली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटघाट भएको छ ।भेटघाटमा दुई पक्षीय हित, आपसी सहकार्य तथा सहयोगका विषयमा छलफल भएको थियो । भेटघाटमा मुख्यमन्त्री कार्कीले स्विस सरकारले कोशी प्रदेशमा पदमार्ग निर्माण, व्यवस्थापन र शासकीय सुधारका लागि गरेको सहयोगको प्रशंसा गर्नु भएको थियो ।
उहाँले आगामी दिनमा विपद् व्यवस्थापनका लागि सहकार्य गर्न आग्रह पनि गर्नु भयो । परिवर्तनले देखा परेका समस्यालाई न्यूनीकरण गर्न सहकार्य गर्नुपर्ने अवस्था रहेको उहाँले बताँउनु भयो ।कोशी प्रदेशको आर्थिक समृद्धिका लागि सरकारले गरिरहेका परियोजनाहरूलाई छिटो र छरितो ढंगले प्रदेश सरकारले अगाडि बढाइरहेको र प्रगति उत्साहजनक रहेको मुख्यमन्त्री कार्कीले बताँउनु भयो । सो अवसरमा स्विस राजदूत डा.ड्यानियल म्युवलीले प्रदेश सरकारको विकास र समृद्धिमा सहयोग गर्ने बताउँदै कार्यक्रमहरूको समीक्षा गर्दै अगाडि बढ्ने उल्लेख गर्नु भयो ।
भेटमा स्विस सरकार विकास सहयोगका प्रमुख म्याथियास मायर, कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला तथा मुख्य न्यायाधिवक्ता नारायण बस्ती, आर्थिक सल्लाहकार मोहन सुवेदी, प्रेस सल्लाहकार विक्रम लुइँटेल लगायतको उपस्थिति रहेको थियो ।










