दमक/
झापाको दमक-६ नमुना मार्गस्थित मुख्य बजार क्षेत्रमा दुई व्यक्तिले आइतबार बिहान आगो लगाएका छन्। दुई व्यक्तिले आगो लगाउँदा ९ वटा पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। सिसिटिभीको फुटेजका आधारमा आगो लगाइएको पुष्टि भएको प्रहरीले जनाएको छ।
कपडा, जुत्ताचप्पल पसल तथा ट्रेलरिङ सेन्टर गरी ९ वटा पसल पूणर् रूपमा जलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार झन्डै दुई करोड क्षति भएको छ । यद्यपि, क्षतिको विवरण संकलन भइसकेको छैन। आइतबार बिहान ३ः१७ मा दुईजना व्यक्तिले आगो लगाएको भिडियो सिसि क्यामाराको फुटेज हेरेर पुष्टि भएको डिएसपी गिरीले बताउनु भयो ।
‘सुरुमा विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको थियो। सिसिटिभी फुटेज हेर्दा दुईजना व्यक्तिले आगो लगाएको देखिएको छ,’ उहाँले भन्नुभयो ,‘एकजनाले पेट्रोल खनाएको र अर्कोले लाइटरले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
आगो करिब तीन घण्टापछि झापा, मोरङका सातवटा दमकलले नियन्त्रणमा लिएका थिए। आगो लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। यद्यपि, उनीलाई अर्कै व्यक्तिले निर्देशन दिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
‘अनुसन्धानकै क्रममा छ। अहिले नाम खुलाउँदा मुख्य अभियुक्त फरार हुन सक्छ। त्यसैले, पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेका छौँ। ती व्यक्तिले संलग्नता स्विकारे,’ डिएसपी गिरीले भन्नुभयो ‘पक्राउ परेका व्यक्तिलाई ती फरार व्यक्तिले बियर खुवाएछन्। त्यसपछि प्रभावमा पारेर आगो लगाउन सहयोग मागेछन्। किन आगो लगाएको भन्ने उनलाई थाहा रहेनछ।’
पक्राउ परेका ती व्यक्तिलाई प्रहरीले इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान गरिरहेको छ। अर्का एक फरार व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।










