ताप्लेजुङ– अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् । तीन वर्षअघि प्रतिकिलो ३५ का दरले मुस्किलले बिक्री गर्नुभएका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत वर्ष प्रतिकेजी एक सय २० मा बिक्री गरे । यो वर्ष पनि त्यही मूल्यमा खरिद भइरहेकाले थप मूल्य बढ्नसक्ने किसानले अनुमान गरेका छन् ।
मूल्यमा उतारचढाव आइरहे पनि यो वर्ष प्रतिकिलो एक सयदेखि एक सय २० सम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आएका स्थानीय रूपनारायण पाण्डेले प्रतिकिलो एक सय २० सम्म लगाएर १० क्विन्टल अम्रिसो जम्मा गरेका छन् । झापाको धुलाबारीमा लगेर बिक्री गर्दै आएका पाण्डेले यो वर्ष केही बढ्नसक्ने अनुमान गरेको बताए । अम्रिसो झापाको धुलाबारीमा पुऱ्याउँदा गत वर्ष रू एक सय ४१ सम्म बिक्री भएको उनको भनाइ छ ।










