दमक/
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त जानकारी दिनु भएको हो ।
बजेटमा निशुल्क औषधि, अस्पतालहरुको क्षमता वृद्धि, स्वास्थ्य बीमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण लगायतका विषयहरु परेका छन्।
स्वास्थ्यमा चालु आर्थिक वर्षमा ६९ अर्ब बजेट बिनियोजन गरिएको छ। चालु आर्थिक वर्षको तुलनामा स्वास्थ्यमा १४ अर्ब रुपैयाँ बढी बजेट आएको छ। स्वास्थ्यमा बजेट घट्ने अनुमान गरिएको थियो।
सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई प्रोत्साहन कार्यक्रम
सरकारले सबै संघीय अस्पतालहरुमा एक चिकित्सक,स्वास्थ्यकर्मी- एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने भएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी- एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको हो ।
जसका लागि सरकारले २४ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री महतले बताउनु भयो ।
‘सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी- एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्न २४ करोड विनियोजन गरेको छु।’ संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले बताउनु भयो ।
आधारभूत स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य सेवाकालागि बजेट
सरकारले आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले ९८ प्रकारका औषधि तथा खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन ६ हजार ७४३ स्थानीय तहका आधारभूत स्वास्थ्य केन्द्रका लागि सो बजेट विनियोजन गरेको बताउनु भयो ।
‘मुलुकभरका ६ हजार ७४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि र खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको छु,’ उहाँले बताउनु भयो ।
अर्थमन्त्री महतले सो कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने पनि घोषणा गर्नु भएको छ ।