काठमाडौँ,३ मंसिर । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साहित नहुन पार्टी कार्यकर्तालाई आग्रह गर्नु भएको छ । राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै उहाँले एउटा निर्वाचन हार्दैमा हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताँउनु भएको छ।गत वर्ष भदौ २३ र २४ गतेका घटनाक्रम तथा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको हुन सक्ने उहाँले उल्लेख गर्नु भयो । तर विगतका सङ्घर्षबाट प्रेरणा लिएर वर्तमान चुनौतीको सामना गर्नुपर्ने भण्डारीको भनाइ छ । पार्टीको विगत स्मरण गर्दै उहाँले पञ्चायती व्यवस्थाको दमन, विश्व कम्युनिस्ट आन्दोलनले बेहोरेको सङ्कट तथा मदन–आश्रितको रहस्यमय हत्यापछिको कठिन परिस्थितिमा समेत एमालेले आफ्नो राजनीतिक यात्रा जारी राखेको बताँउनु भयो ।
आगामी चुनौतीको सामना गर्न सङ्गठनलाई सुदृढ, एकताबद्ध र गतिशील बनाउनुपर्नेमा जोड दिँदै भण्डारीले नेता तथा कार्यकर्ताबिच जिम्मेवारीको व्यावहारिक कार्यविभाजन, योगदान र क्षमताको उचित मूल्याङ्कन तथा पार्टीका सबै तहबीच साझा उद्देश्य निर्माण गर्न आवश्यक रहेको औँल्याँउनु भएको छ । हालको निर्वाचन परिणाम अस्थायी धक्का मात्र रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा सही कार्यदिशा र दृढ प्रतिबद्धताका साथ जनताको विश्वास जित्नुपर्ने बताँउनु भयो ।
भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता भण्डारीले भन्नु भयो, ‘हालै सम्पन्न निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर धक्काको सम्बन्धमा पार्टीले व्यापक छलफल र समीक्षासमेत गरिसकेको छ । समीक्षाबाट निकालिएका निष्कर्षहरूलाई नेतृत्वदेखि कार्यकर्तासम्म सबै तहमा इमानदारीपूर्वक व्यवहारमा कार्यान्वयन गरिनुपर्दछ । एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन, तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो ।’
राजनीतिमा थकाइ र विश्राम भन्ने नहुने बताउँदै उहाँले आफू कुनै पदप्राप्तिका लागि राजनीतिमा सक्रिय नभएको स्पष्ट पार्नु भयो। कम्युनिस्ट आन्दोलन र नेकपा (एमाले) लाई बलियो शक्तिका रूपमा विकास गर्न आफू सक्रिय राजनीतिमा फर्किएको उहाँको भनाइ छ ।
यसैबिच, वरिष्ठ नेता भण्डारीले सरकारका गतिविधिहरू निरङ्कुश, स्वेच्छाचारी, अराजक र प्रतिशोधपूर्ण हुँदै गएको आरोप लगाँउनु भएको छ । सरकार फरक मतलाई बन्देज गर्न अग्रसर भएको टिप्पणी गर्दै उहाँले निरङ्कुशता, स्वेच्छाचारिता र अराजकता एमालेलाई स्वीकार्य नहुने चेतावनी दिइनु भयो । संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि आफ्नो पार्टी आन्दोलनमा उत्रिन तयार रहेको उहाँको भनाइ छ ।
राजनीतिक असहमतिका आधारमा सरकारले व्यक्ति तथा सञ्चारमाध्यमलाई निशाना बनाएको आरोप लगाउँदै भण्डारीले कानुनलाई राजनीतिक प्रतिशोधको माध्यम बनाउन नहुने बताँउनु भयो । कानुन उल्लङ्घन भएको अवस्थामा निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट निरूपण हुनुपर्नेमा उहाँले जोड दिइनु भयो। स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक प्रतिस्पर्धा र प्रतिपक्षको भूमिकाको सम्मानबिना लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै उहाँले सरकारलाई संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटो अपनाउन आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘लोकतान्त्रिक व्यवस्थामा संसद्, संसदीय प्रक्रिया, प्रतिपक्षको भूमिका तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र मर्यादाको सम्मान हुनुपर्दछ । राज्यका अङ्ग तथा निकायहरू संविधानभन्दा माथि हुन सक्दैनन् । कानुनी प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण व्यवहार गर्ने, राजनीतिक असहमतिका आधारमा व्यक्तिलाई निशाना बनाएर प्रहरी नियन्त्रणमा लिने वा सञ्चारमाध्यमको स्वतन्त्रता सङ्कुचित गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कार अनुकूल हुन सक्दैन ।’
पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कतिपय गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य, संसदीय प्रणाली तथा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिचको शक्ति सन्तुलनमाथि गम्भीर प्रश्न उठाएको भण्डारीको ठहर छ । समयमै यस्ता विषयको निराकरण नगरिए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने चेतावनी दिँदै उहाँले सानातिना मतभेद थाती राखेर संवाद र सहकार्यको पहलकदमी लिन सम्पूर्ण राजनीतिक दल तथा देशभक्त शक्तिहरूलाई आह्वान गर्नु भयो।
नेपालको संविधान राजनीतिक सहमतिको ऐतिहासिक दस्ताबेज भएकाले यसलाई संशोधन गर्न पनि राजनीतिक सहमति आवश्यक रहेको उहाँले बताँउनु भयो । संविधानका कतिपय धारा संशोधन गर्न आवश्यक रहे पनि यसको आधारभूत मान्यता, प्रस्तावना र लोकतान्त्रिक चरित्रमा प्रतिकूल असर पर्ने गरी मूल मर्मलाई चलाउन नहुने भण्डारीको धारणा छ ।










