दमक/
गत जेठ ३२ गते कोशी प्रदेशले आर्थीक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको थियो । तत्कालीन मुख्यमन्त्री हिकमत कुमार कार्कीले यहाँको आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हाल्नु भएकोले प्रदेशसभामा उहाँले बजेट पेष गर्नु भएको थियो ।
तत्कालीन सत्ता साझेदार दल जनता समाजवादी पार्टी र माओवादीले आव ०८०/८१ को नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याउने मुखमा कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले अध्यादेश मार्फत बजेट सार्वजनिक गर्नु भएको थियो ।
अध्यादेशमार्फत आर्थिक वर्ष ०८०/८१ का लागि ल्याएको बजेट सोमबारदेखि कार्यान्वयन भएको छ । उक्त मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले साउन १ बाट अध्यादेशबाट आएको बजेट कार्यान्वयनमा आएको बताउनु भएको छ । उहाँका अनुसार प्रदेशसभामा असार १४ मा अध्यादेश पेस भइसकेकाले त्यसको ६० दिनसम्म बजेट कार्यान्वयनमा कुनै समस्या हुदैन ।
कार्कीले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनलाई जेठ ३१ मा अन्त्य गरी जेठ ३२ मा अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याउनु भएको थियो ।