दमक /
भारतले साउन ४ गते बासमतीबाहेकको सेतो चामलको निर्यात बन्द गर्ने घोषणा गरेपछि नेपाली बजारमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ । भारतको घोषणाको एक साता नपुग्दै नेपाली बजारमा व्यापारीहरूले चामलको भाउ बढाउन थालेका छन् । अहिले एक बोरामा ५ सय रूपैयाँसम्म मूल्यवृद्धि भएको गुनासो उपभोक्ताले गरिरहेका छन् ।
तर, मनलाग्दी मूल्यवृद्धि नियन्त्रण गर्न छाडेर सरकार विज्ञप्ति, पत्राचार र निर्देशनमात्र गरेर बसिरहेको छ । बुधबारमात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको सूचना जारी गर्यो । अनुगमन प्रभावकारी नहुँदा निर्देशन कार्यान्वयन फितलो छ ।
गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बिक्री गर्न निर्देशन दिएको हो ।तर, खुद्रा व्यापारीहरू भने होलसेलबाटै भाउ बढेकाले महँगो परेको जवाफ दिन्छन् ।
विभागका प्रवक्ता होमनाथ भट्टराई ३ वटा अनुगमन टोली बनाएर अनुगमन भइरहेको बताउँनुहुन्छ ।
मूल्यवृद्धि गर्नेलाई ३ लाखसम्म जरिबाना
चामलको भाउ उपभोक्ताको भान्सासम्म पुग्दा अस्वाभाविक बढाएको प्रमाणित भए उपभोक्ता संरक्षण ऐन २०७५ आकर्षित हुनेछ । यसमा अनुगमनस्थलमै ५ हजारदेखि ३ लाख रूपैयाँसम्म जरिबाना हुने विभागले जनाएको छ । अर्कोतर्फ कसूरको मात्रा र प्रकृतिको आधारमा मुद्दासमेत दायर हुनेछ ।










