दमक /
अर्थतन्त्र चलायमान गराउन सरकारले जग्गा कित्ताकाट खोले पनि त्यसको प्रभाव घरजग्गा कारोबारमा भने पर्न सकेको छैन।
घरजग्गा कारोबार बढाएर अर्थतन्त्रलाई चलायमान गराउन एक महिना अघि सरकारले कित्ताकाट खुला गरेको थियो।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा सरकारले घरजग्गा कारोबारमा सहजीकरण गर्ने घोषणा गरेको थियो। यो सँगै व्यवसायीहरू उत्साहित भएका थिए।
सोही अनुरूप सरकारले भू–उपयोग नियमावली संशोधन गरेर जग्गा कित्ताकाट खोलेको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा देशभर ३४ हजार सात सय २० संख्यामा घरजग्गा कारोबार भएको थियो।
चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा एक सयको हाराहारीमा वृद्धि भई ३५ हजार ६ सय ८६ संख्यामा घरजग्गा कारोबार भएको छ।
साउन महिनामा भने यस्तो घरजग्गा कारोबार ३३ हजार आठ सय ३४ संख्यामा थियो।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको आवास तथा घरजग्गामा जाने कर्जा करिब तीन प्रतिशतले बढेर साउनसम्ममा पाँच खर्ब ९९ सय अर्ब पुगेको छ।
२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो।