झापा महेश बस्नेत सवार सवारीमा ढुङ्गा प्रहार

दमक /
झापामा पहिचानवादीहरूले एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन्। राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न बिहीबार झापा आएका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई अवरोध गर्न कार्यक्रम स्थल पुगेका पहिचानवादीहरूले नेता तथा कार्यकर्ता चढ्ने सवारीसाधनमाथि तोडफोड गरेका हुन्।

बाक्लो सुरक्षा घेरामा कार्यक्रम स्थलभित्र पूर्व मन्त्रीसमेत रहेका युवा नेता बस्नेत भाषण गरिरहेका बेला सडकमा छरिएर रहेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरूले ढुंगामुढा गरी सडक किनारमा पार्किङ गरी राखिएका एक दर्जन बढी सवारीसाधनहरूको सिसाहरू फुटाएका छन्।

युवा नेता बस्नेत सहभागी कार्यक्रम बिथोल्न पुगेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरू सडकमा नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए। युवा संघका कार्यकर्ता र पहिचानवादी, दुर्गा प्रसाईँ समर्थकबीच हुनसक्ने झडपलाई मध्यनजर गरी ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो।

प्रहरीकै घेराबन्दीमा युवा नेता बस्नेत कार्यक्रम स्थल पुग्दा उनीहरूले कालोझण्डा देखाउँदै चर्को नाराबाजीसमेत गरेका थिए। राजधानीको एक होटेलमा बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँलाई मोसो दलेपछि प्रसाईँ पक्षधरहरूले बस्नेतलाई टार्गेट बनाएका थिए।

प्रसाईँले आफूमाथि भएको दुर्व्यवहारको बदला लिने खुलेआम चेतावनीसमेत दिएका थिए। प्रसाईँको समर्थकसहित पहिचानवादीहरू पनि बस्नेतलाई निशाना बनाउन कार्यक्रम स्थल पुगेका थिए।

Share:

Facebook
Twitter
Email
WhatsApp