कोशी प्रदेश : के बिउतेला त गठबन्धन ?

बिराटनगर/
विश्वासको मत लिन मुख्यमन्त्रीलाई संविधानले नै ३० दिनको समयसीमा दिएको छ। तर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नियुक्तिको पाँचौ दिन नै बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
यति लामो समयको सुविधा हुँदाहुँदै पाँचै दिनमा विश्वासको मत लिन मुख्यमन्त्री कार्की किन हतारिए?
‘उहाँलाई एकातिर आफ्नै दल नेपाली कांग्रेस पनि सामेल गठबन्धनको दबाब छ’, मुख्यमन्त्री कार्कीनिकट एक सांसदले भने, ‘अर्कातिर आफूलाई मुख्यमन्त्री बनाउन सघाउने नेकपा (एमाले)को दबाब पनि उस्तै छ। रात रहे अग्राख पलाउँछ भन्ने त्रासका कारण सकेसम्म छिटो विश्वासको मत लिन लागिएको हो।’
सत्ता गठबन्धन दलहरूले नेकपा माओवादी केन्द्रका संसदीय दल नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेस नेता शेखर कोइराला समूहले कोशीमा विद्रोह गरेको थियो। त्यसको नेतृत्व मुख्यमन्त्री कार्कीले गरेका थिए।
एमालेका ३९ र कांग्रेसका विद्रोही ८ जना सांसदको समर्थनमा कार्की गत शनिबार मुख्यमन्त्री नियुक्त हुँदा नहुँदै बालुवाटारमा भएको तीन शीर्ष नेता (प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला)बीचको सहमतिको ‘चिर्कटो’ बाहिरिएको थियो।
आफूलाई मुख्यमन्त्री बनाउन आड दिने नेता कोइरालाले बालुवाटारमा प्रधानमन्त्री दाहाल र देउवासँग गरेको ‘चिर्कटो सहमति’ कार्यान्वयन गर्नैपर्ने दबाब कार्कीलाई छ।
एमालेले गठबन्धनका अरु दललाई सरकारमा सामेल गराए पनि माओवादीलाई नगराउन मुख्यमन्त्री कार्कीलाई दबाब दिँदै आएको छ। यद्यपि मुख्यमन्त्री कार्की भने विश्वासको मत लिएलगत्तै माओवादीसहितका दलहरुलाई सरकारमा सामेल गराउने तयारीमा छन्। यसको प्रष्ट संकेत उनले शपथकै बेला गरिसकेका छन्। ‘प्रदेशमा सहमतिको सरकार बन्नेछ’, मुख्यमन्त्रीले भनेका छन्, ‘सबै दल मिलेर अघि बढ्नुको विकल्प छैन।’

Share:

Facebook
Twitter
Email
WhatsApp