सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरुमा समस्या,चिनी अभावले उत्पादनमा कटौती

बिराटनगर/
सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका चकलेट, बिस्कुट र जुस उद्योगहरू चिनी अभावका कारण समस्यामा परेका छन् ।
सरकारले चिनी उपलब्ध नगराउँदा कोरिडोरमा रहेका चकलेट र बिस्कुट उद्योगहरूले कुल आफ्नो उत्पादन ५० प्रतिसशतमा खुम्चाएका छन् ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा २० भन्दा बढी बिस्कुट र चकलेट उद्योगहरू छन् । क्षमता अनुसार उद्योग सञ्चालन गर्न नपाएपछि उद्योगहरूले मजदुरलाई समेत आलो पालोमा काम लगाउन थालेका छन् । चाडबाडको बेला काम नपाएपछि मजदुर समेत समस्यामा परेका छन् ।

उद्योगी आफैले पनि चिनी ल्याउन नसक्ने र सरकारले पनि माग अनुसारको चिनी दिन नसकेका कारण जुस चकलेट र बिस्कुट उद्योगहरू मारमा परेको उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए ।

चाडबाडका बेला बढी विक्री हुने बिस्कुट, डेरी प्रडक्ट, मिस्री, मिठाइ र चकलेट उद्योगको उत्पादन ५० प्रतिशतमा खुम्चिएपछि वर्षभरि नै उद्योगीहरूलाई समस्या हुने सुराना बताउँछन् ।

‘माग भएको बेला चिनी अभावका कारण उत्पादन हुन सकेन, माग नभएका बेला चिनी दिएर के गर्नु ?’ उनले गुनासो गरे ।
तिहारमा चकलेट , मिश्री लगायतका सामाग्रीको नेपाली बजारमा उच्च माग हुनेभए पनि उत्पादनमा कटौती गर्नु परेको उद्योगी महेश जाजुले बताए ।

सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०–१० हजार टन आयात गर्न स्वीकृति दिए पनि उनीहरूले अहिलेसम्म आयात गर्न सकेका छैनन् । सरकारले तोकेका सरकारी कम्पनीले चिनीको आयत समयमा गर्न नसक्दा चिनीको मूल्य आकासिएको छ ।

नेपालमा वार्षिक ३ लाख २० हजार मेट्रिक टन चिनी खपत हुन्छ । तर नेपालमा रहेका चिनी उद्योगले मुस्किलले ८० हजार टन उत्पादन गर्छन् ।नेपाली उत्पादनले चिनीको माग धान्न नसकेपछि चिनी आयत गर्नु पर्ने बाध्यता रहेको छ ।

Share: