दमक/
नेपाल बहुधार्मिक, बहुसास्कृतिक तथा बहुजातीयको बसोबास भएको देश हो । यहाँ हिमाल , पहाड र तराईका आ आफ्नै सस्कार र सस्कृती छन् । सबैको महत्व र विषेशता आ आफ्नै छ ।
यस्तै मध्येको एक पर्व हो छट ।
छट पर्व खासगरी नेपालको तराईमा मात्रै मनाइने भनेर परिभाषीत गरिएपनि अहिले भने यसले आफ्नो भुगोल बढाउन थालेको छ । यो पर्व अहिले पहाड तीर समेत उक्लन थालेको छ ।
सूर्य उपासनाको पर्व छठ ४ दिनसम्म मनाइन्छ। यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ ।
मानव सभ्यताको शुरुदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वणर्न महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा चैते छठपर्व मनाइन्छ ।
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइन्छ। व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खरना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन ्। व्रतालु भक्तजन राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्कन्छन ्। तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूणर् परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ ।
षष्ठीको भोलिपल्ट ब्रह्ममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घस्रिँदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्नेजस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ ।
कार्तिक शुक्ल चतुर्दशीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी हर्सोल्लासका साथ मनाइने यो एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको समेत आराधना गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन्, सम्मान गर्छन् तर डुब्न लागेको घाम, गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् । तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समान रूपमा प्रकाश दिन्छन् । त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । वर्षको दुई पटक चैत र कार्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । विधी विधान अनुसार मनाएमा आफ्ना सम्पूणर् कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।
छालासम्बन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लीन भएर नजिकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् । छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईजस्ता सामग्रीको आवश्यकता पर्दछ। सम्पूणर् प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।
यसरी चार दिनदेखिको छठपर्वको समापन हुन्छ । सूर्य उपासनाको पर्व छठ पहिले पहिले मधेशमा मात्र मनाइने गरिन्थ्यो तर हिजोआज देशभरि नै उल्लासका साथ मनाइन्छ । यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता छ । अन्य पर्व र चार्ड जस्तै छठपर्वको पनि आफ्नै महत्व रहेको पाइन्छ ।
भिडियोमा हेरौं