दमक, १० साउन /
दमक नगरपालिकाले २०७७ सालमा नगरपालिका परिसरमै एउटा पुस्तकालाय स्थापना गर्यो । तत्कालीन नगर प्रमुख रोमनाथ ओलीले आम नागरिकको अध्यनशीलता बृद्धि गर्न र नगरपालिका आउने सेवाग्राहीले पर्खनु परेमा पुस्तक पढ्दै समय बिताउन सकुन् भनेर पुस्तकालयको स्थापना गरेको घोषणा गर्नु भएको थियो ।
जसअनुसारनै यहाँ स्थानीयदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्मका चर्चित लेखकहरुले लेखेका विभिन्न विधाका पुस्तकहरु राखिएका छन् । जीवन दर्शन, विश्व राजनीतिदेखि लिएर नेतृत्व विकासका साथै बालबालिकाका बाल पुस्तक, साहित्यका आख्यान, कथा, कविता, समीक्षासम्मका गरी ६ हजार बढी पुस्तकहरु छन् ।
तर, यति धेरै पुस्तकले भरिएको यो पुस्तकालय अहिले बन्द छ । पुस्तकालयमा र्याकमा मिलाएर राखिएका पुस्तकहरु अहिले भने गोदाममा निकालिएको छ । जसले गर्दा पुस्तक राखेको र्याकहरुमा माकुराको जालो लागेको छ । अहिले त्यहाँबाट कुनै पुस्तक निकाल्नु पर्यो भने सबैभन्दा पहिला माकुराको जालो हटाउनु पर्छ अनिमात्रै पुस्तक निकाल्न मिल्छ ।
करिब १० लाख रुपैयाँ खर्च गरेर पुस्तकालय खडा गरेको थियो । पुस्तक खरिद, ती पुस्तक राख्न र्याक, बस्न आवश्यक पर्ने टेवल तथा कुर्सी निर्माण, एसी सहितको पढ्ने कोठा र पुस्तकको रेकर्ड राख्न कम्प्यूटर सहित एक जना कर्मचारी समेतको व्यवस्था मिलाइएको थियो ।
तत्कालीन समयमा साहित्य कलाको प्रवद्र्धनमा नगरमा गठित दमक प्रज्ञा प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेको यो पुस्तकालयको प्रतिष्ठानको कार्यअवधि सकिएसँगै अस्तित्वनै संकटमा परेको छ ।
स्थानीय तहको निर्वाचन ०७९ बाट नयाँ कार्यपालिका बनेदेखि यता न प्रतिष्ठान पुनःगठन भयो, न त यो पुस्तकालयनै सञ्चालनमा आयो ।
नगरपालिकाले बनाएको यो पुस्तकालय किन प्रयोगबिहिन बनाइएको भनेर हामीले नगरपालिकामा प्रश्न गरेका छौं । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले अव यो पुस्तकालय यही आर्थीक वर्षभीत्रमा ञ्चिालन गरिने बताउनु भएको छ । नयाँ योजना सहित यसलाई थप परिस्कृत गर्दै सञ्चालन गर्ने गरी बजेटमै व्यवस्था गरेर यो सञ्चालनमा ल्याउन लागीएको उहाँले बताउनु भयो ।
नगरपालिकाले यो पुस्तकालयलाई सञ्चालन र व्यवस्थापन गर्न भन्दै चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट बिनियोजन गरेर काम अघि बढाउने निणर्य गरेको छ । तर प्रज्ञा प्रतिष्ठान पुनःगठन नगरी यो पुस्तकालय कसरी सञ्चालन गर्ने भन्ने अझै पनि नगर स्पष्ट भएको चाँहि देखिदैन ।
यसरी राज्यकै लगानीबाट स्थापना भएको पुस्तकालय राज्यबाटै संरक्षित नहँुदा सुशासन स्थापना गर्छु भन्दै भाषण गर्ने जनप्रतिनिधिमाथी आम नागरिकले प्रश्न उठाउन थालेका छन् ।
नगरपालिका चेतनाको विकासमा भन्दा पनि भौतिक विकासमा केन्द्रित हँुदा यसखाले संरचना निस्कृय मात्रै भएका छैनन्, पुःन निर्माण समेत हुन सकेका छैनन् ।
त्यसैले जे उद्धेश्यकालागि नगरमा खडा भएको यो पुस्तकालय सोही अनुरुप प्रयोगमा ल्याई आम नागरिकमा हराउँदै गरेको पठनसँस्कृतिको विकास गराउन सक्नु पर्छ । नगरका हरेक गतिविधिको रेकर्ड पनि यहाँ अध्ययन गर्न पाइनु पर्छ । साथै अहिले डिजिटल यूग रहेकाले त्यस अनुसारको इ पुस्तकालय समेतको व्यवस्था गरी परिस्कृत भएर नगरले काम गर्न आवश्यक छ ।