दमक, १६ साउन / समाज रुपान्तरण गर्न प्रमुख भूमिका खेल्ने शिक्षा क्षेत्रको व्यवस्थापनमा दमक नगरपालिका कार्यालयले ०७६ मा शिक्षा ऐन बनायो र अहिले त्यसका आधारमा ‘शिक्षा नीति’ बनाउँदैछ ।
दमक नगर शिक्षा समितिले शिक्षा नीति निर्माणका लागि गठन गरेको समितिले पाँच क्षेत्रमा वर्गिकरण गरेर सुझाव पेश गरेको यसका संयोजक कृष्णप्रसाद भण्डारीले बताउनु भयो । उहाँले उज्यालो खबरको ‘उज्यालो शिक्षा’ कार्यक्रमको अन्तरसंवादमा बोल्दै जनजीवनसँग जोडिने गुणस्तरीय शिक्षा नीतिको व्यवस्थापन र कार्यान्वयनका लागि नगरपालिका प्रभावकारी रुपमा अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो । उहाँले समितिले बुझाएको मस्यौदा अन्तर्गत सुझावका बुँदाहरुमा विद्यार्थीको पहुँचको सुनिश्चितता, शैक्षिक गुणस्तर विकास, सुशासन, संस्थागत क्षमता अभिबृद्धि, शिक्षकको पेशागत विकास, पूर्वाधार र बालमैत्री वातावरण रहेको प्रष्ट्याउनु भयो ।
उहाँले शिक्षक, विद्यार्थी र अभिभावकबीचको त्रिपक्षीय समन्वयमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा मस्यौदामा उल्लेख गरिएको पनि बताउनु भयो । साथै उहाँले यी सवैका लागि बृहत शिक्षा रणनीति बनाएर जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
अन्तरसंवादमा बोल्दै दमक नगर शिक्षा समितिका अध्यक्ष एवम् दमक ९ का वडाध्यक्ष कुवेर भट्टराईले समितिले बनाएको शिक्षा नीतिको मस्यौदालाई कार्यान्वयन गरेर जाँदा नगरको शिक्षाको गुणस्तर माथि उठ्ने अवस्था देखिएको जनाउनु भयो । उहाँले शिक्षा समितिले सो मस्यौदा अध्ययन गरी नगर कार्यपालिकामा छलफल गराएर पारित गर्ने कामका लागि बुझाइसकेको बताउँदै भन्नुभयो ‘समितिले कार्यपालिका बैठकमा छलफलका लागि नगर प्रमुख समक्ष पेश गरेको ३ महिना बढी भएको छ ।’