दमक, २३ साउन / कक्षा १२ को परीक्षाफल प्रकाशनपछि अव स्नातकतह पढ्न विद्यार्थीहरुले योजना बनाइरहेका छन् । स्नातक तह पढ्दा अव आफ्नो भविष्य कुन विषय र कहाँ पढ्दा सुनिश्चित हुन्छ भन्ने गरी विद्यार्थीहरुले योजना बनाउने गर्दछन् ।
त्यसैले जीवनको महत्वपूणर् अवसर खोज्न चुनौति मोल्दै विद्यार्थीहरु विषय छानिरहेका छन् । पढ्ने क्षेत्र र ठाउँको निक्र्यौल गरिरहेका छन् । तर अझैपनि आफुमा के क्षमता छ र त्यो क्षमतालाई थप परिस्कृत गर्दै जीवनमा अघि बढ्ने भन्दा पनि मेरो साथी के पढ्दैछ र कहाँ जादैछ भन्ने कुराकै आाधारमा यसपछिको अध्ययन यात्रा तय गर्ने विद्यार्थीहरु पनि छन् ।
अनि अर्कातर्फ, १२ सकेर पनि नेपालमै बस्नु र ? नेपालमा पनि पढेर भविष्य बन्छ त भन्ने भाष्य पनि निर्माण गरिएको छ । जसले नेपालका युवा जनशक्तिलाई विदेश पलायन हुन प्रोत्साहन गरिनैरहेको छ ।
के उसो हो भने यही बसेर पढ्दैमा विद्यार्थीको भविष्य नै बन्दैन त ? काम गर्न स्वरोजगार बन्न वा एक असल नागरिक बन्नेगरिकोे नेपालको शिक्षा छैन ? यो प्रश्न सुन्दा सामान्य तर निकै जटिल छ ।
त्यसैले उज्यालो खबरको ‘उज्यालो शिक्षा’मा हामीले खास गरी दमकमा स्नातक तह पढाइरहेका क्याम्पसहरुमा पुगेर त्यहाँका जिम्मेवार पक्षसँग प्रश्न गरेका छौ , ‘तपाईहरुको सिकाई र पढाईकोे पद्धतिप्रति विद्यार्र्थीहरुमा वितृष्णा बढेको हो त ?
दमकको मुख्य चोकमै रहेको यूनिक कलेजका कुरा सुनौ । यो कलेजले खास गरी व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ । क्याम्पस प्रमुख शेखर कटुवालका अनुसार पनि विद्यार्थीको भर्ना दर अघिल्ला वर्षभन्दा घट्दो छ । उसो भए विद्यार्थीलाई आकर्षण गर्न यूनिक कलेजले बनाएको योजना के छ त ?
पाठ्यक्रमलाई प्रयोगात्मक रुपमा अभ्यास गराउने तथा कतिपय जिल्लाको भ्रमण समेत गराएर अवको व्यवहारिक शिक्षाका बारेमा अन्तरक्रिया गराउने र सहजीकरण समेत गर्ने गरिएको कटुवालको भनाई छ । जसबाट केही मात्रामा विद्यार्थीलाई बाहिर जानबाट रोक्न मद्धत गरेको उल्लेख गर्नुभयो । म्यानेजमेन्ट पढेका विद्यार्थीलाई दमककै बैंकमा इन्टर्नसीप गराउँदै स्थानीय क्षेत्रमा रोजगारका लागि प्रोत्साहित गर्ने गरेको पनि जनाउनु भयो । ‘सिकेको ज्ञान सीपलाई अरुलाई पनि हस्तान्तरण गर्न लाग्नु पर्छ । त्यसले पनि स्वदेशी व्यवसायिक प्रवद्र्धनमा सघाउनेछ ।’
हुन त यो राष्ट्रिय समस्या हो । राज्यले नै रोक्न नसकेको विद्यार्थीको भिड सिमित क्याम्पसहरुको प्रयासले मात्रै कति थेगिन्थ्यो होला र ? त्यसैले राज्यले नेपालमा पढेर नेपालमै भविष्य निर्माण गर्न सकिन्छ भन्ने कुराको प्रत्याभूति नगराएसम्म अझै १० वर्ष यहाँका सक्षम र उत्पादनमुखी यूवा जनशक्ति विदेश पलायन भइनैरहने शिक्षा विश्लेषकहरुको विश्लेषण छ । चाहे त्यो काम गर्न होस वा पढ्ने बाहनामा । देश छोडेर विदेश जानेको यो लहडको भेल अझै बढिरहने छ । जतिबेलासम्म राज्यले स्वदेशमै रोजगार सिर्जना नगरी रेमिट्यान्सलाई आफ्नो प्रमुख आम्दानीको श्रोत मानिरहन्छ त्यतिबेलासम्म स्थिती यस्तै यस्तै रहन्छ ।
https://fb.watch/tP9KLrdnKi/









