एजेन्सी, कार्तिक ३ / कम्पनीले खाना भत्ताबापत दिएको रकम अन्य क्षेत्रमा खर्च गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले दुई दर्जन कर्मचारी बर्खास्त गरेको छ ।
कम्पनीले खाना भत्ताका लागि प्रदान गरेको रकमले डण्डिफोर उपचार, कपडा धुने डिटरजेन्ट र वाइन गिलास खरिदमा खर्चिने करिब दुई दर्जन कर्मचारीलाई मेटाको लस एन्जल्सस्थित कार्यालयबाट निष्कासन गरिएको उल्लेख छ ।
मेटाले आफ्ना ठूला कर्पोरेट कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि आफ्नै भव्य क्याफेटेरियामा निःशुल्क रुपमा खाना खाने सुविधा दिएको हुन्छ भने सानो आकारका कार्यालयमा कार्यरत कर्मचारीलाई चाहिं ब्रेकफास्ट भत्ताबापत २० डलर र लञ्च तथा डिनर भत्ताबापत २५/२५ डलरको भौचर प्रदान गर्ने गरेको छ ।
उक्त रकमबाट कर्मचारीले खानेकुरा अनलाइनबाटै कार्यालयमा मगाएर खान सकुन् र काममा बाधा नपुगोस् भन्ने उद्देश्य मेटाको रहेको छ ।