दमकमा अंग्रेजीका ६ सय बढी शिक्षकहरु भेला हुँदै, आफ्नो शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउने मौका

दमक, कार्तिक १३
कोशी प्रदेशभरीका अंग्रेजी विषय पढाउने ६ सय बढी शिक्षकहरु झापाको दमकमा भेला हुने भएका छन् ।

 

अंग्रेजी विषय पढाउने शिक्षकहरुको संगठन अग्रेजी भाषा शिक्षक संघ कोशी प्रदेशले आयोजना गर्न लागेको चौथो नेल्टा कोशी सम्मेलनमा सहभागी हुन यी शिक्षकहरु आउने भएका हुन । यही कार्तिक २४ र २५ गते विभिन्न विषयगत प्रशिक्षण, गोष्ठी र अनुसन्धानात्मक कार्यक्रममा उहाँहरुलाई सहभागी गराइने छ ।

 

यसबारेमा जानकारी दिन सोमबार दमकमा आयोजित पत्रकार सम्मेलनका अनुसार यो सम्मेलनले शिक्षकको सिकाईलाई थप सिर्जनात्मक बनाउन मद्यत गर्ने छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल अंग्रेजी शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष गुणराज नेपालले कार्यक्रममा सहभागी हुने शिक्षक र विद्यार्थीहरुलाई पेशागत कौशलमा सुधार गराउने तथा विचार र नव प्रवर्तनहरुको आदान प्रदान गरी प्रभाकारी भाषा नीति र पद्धतीको वकालतमा फाईदा हुने उल्लेख गर्नु भयो ।

 

कार्यक्रममा काठमाडौं विश्व विद्यालयका डिन प्रा.डा. बालचन्द्र लुईटेल, अमेरिकी राजदुताबासका क्षेत्रीय अंग्रेजी भाषा विभागका प्रमुख रोजर एफ कोहेन, नेल्टाका केन्द्रीय अध्यक्ष लक्ष्मण ज्ञवाली लगायत मुख्य वक्ताको रुपमा रहनुहुने छ । कार्यक्रमको उद्धघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले गर्नुु हुने कार्यक्रमका संयोजक तथा नेल्टा कोशीका बरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

 

कार्यक्रम सम्पन्न गर्न २५ लाख बढी खर्च हुने अनुमान आयोजकको छ । कार्यक्रममा सहभागी हुनेबाट प्रवेश शुल्क र अन्य केही प्रायोजकबाट सो खर्चको व्यवस्थापन गरिने जनाइएको छ । कार्यक्रमको स्थानीय व्यवस्थापकमा दमकस्थित आस्था कलेजका प्राध्यापक राजेन्द्र अधिकारी र हिमालय माद्यमिक विद्यालयका शिक्षक भोज भट्टराई रहनु भएको छ ।

Share: