"मंगलमयको शैक्षिक प्रगति तर भौतिक संरचनाको अभाव"

मंगलमय माविको ५३ औ वार्षिक उत्सवमा भवन निर्माणको माग

दमक, पुस २८
झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा रहेको मंगलमय माद्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयको ५३ औ वार्षिक उत्सवको अवसरमा आफ्‌ना प्रतिभाहरु प्रस्तुत गर्दै कार्यक्रमको आकर्षक केन्द्र नै बने ।

 

कसैको एकल त कसैैको सामुहिक प्रस्तुति । कोही राष्ट्रिय गीतमा त, कोही बाल गीतसहितका गीतहरुमा आफ्‌ना प्रस्तुति दिइरहेका थिए ।
विद्यार्थीहरुको सिकाईलाई किताबसँगै किताब बाहिरका विषयमा समेत जानकारी गराउँदै प्रतिभाको विकास गराउने काममा योजनावद्धरुपमा विद्यालय लागिपरेको प्रधानाध्यापक मोहन बगालेले विद्यालयको वार्षिक प्रतिवेदनमा समेत उल्लेख गर्नुभयो ।

 

बाल कक्षा देखि १२ कक्षासम्म अध्ययनरत यस विद्यालयको विद्यार्थीको संख्या गाउँपालिकाका अन्य विद्यालयको भन्दा उच्च हो । त्यसैले कार्यक्रमका अतिथिहरुले पनि विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गर्नकालागि चलाएका कार्यक्रमको प्रसंशा गरेका थिए । मदनआश्रित विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहालले मंगलमय माविले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण अभिभावकको विश्वास जित्न सकेको भन्दै प्रसंशा गर्नुभयो ।

 

१ हजार ४ सय जना भन्दा धेरै विद्यार्थी अध्ययन गराउनकालागि विद्यालयले भवन अभावको समस्या झेलिरहेको छ । वैकल्पिक कक्षाकोठा सञ्चालन गर्न विद्यालयको माथिल्लो तलामा ट्रस्ट लगाएर अस्थाई कोठाहरु निर्माण गरिएको छ । प्राविधिक विषयहरु समेत अध्यापन हुने यो विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ ।
तर भवन अभाव यहाँको मुख्य समस्या हो । यही समस्या समाधान गरिदिन बिगतमा भारतीय दूतावासले सुविधासम्पन्न भवन निर्माण गरिदिने भनेको भएपनि अहिले राज्यका संरचना फेरबदल भएका कारण त्यो काम पुनः अघि बढ्न नसकेको व्यहोरा प्रधानाध्यापक बगालेले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख छ ।

 

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले बिगतमा जिल्ला विकास समितिमार्फत यसखाले भवन निर्माण तथा जिल्लाका पूर्वाधार विकासको काम हुने गरेको भएपनि अहिले त्यस्ता काम यस निकायबाट हुन नसकेको बताउनु भयो । यस विद्यालयमा पनि भारतीय दूतावासले बनाइदिने भनेको भवन पूर्ण नभएकोले त्यसलाई पुरा गराउन तत्कालीन निर्माण कम्पनी खोजी गरि दूतावाससँग समन्वय गरेर काम सम्पन्नता गराउन आफूले पहल गर्ने उहाँको प्रतिवद्धता छ ।

 

वार्षिक उत्सवको अवसरमा विद्यालयका जग्गादाताहरु, पूर्व विद्यार्थी, केही सामाजिक तथा शैक्षिक अगुवाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा शिक्षक वर्गले समेत मनोरञ्जनात्मक प्रस्तुति राख्नु भएको थियो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, बिभिन्न शैक्षिक व्यक्तित्वका साथै स्थानीयस्तरमा सक्रिय रहेका राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।

Share: