सिंहबाहिनीका भूतपूर्व विद्यार्थीहरुको गुरु सम्मान, नयाँ समिति चयन

पथरी, पुस २८
आफूले अध्ययन गरेको शैक्षिक संस्था जो कोहीलाई अति प्यारो हुन्छ । त्यहाँबाट निस्किएर अन्यत्र आफ्‌नो दैनिकीमा जहाँ जहाँ पुगेपनि त्यसको सम्झना र माया अमर नै रहन्छ । गुरुवर्गको सम्झना अझ बढी हुन्छ । अनि आफू पढेको संस्थाको दुःखसुखमा गच्छे अनुसार सघाउन मन लाग्छ ।

 

यस्तै भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने क्रममा गुरुवर्गलाई सम्मान गर्दै मोरङको पथरी शनिश्चरे ९ रिंगुवास्थित सिंहबाहिनी माद्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुको दोस्रो पुनर्मिलन सम्पन्न भयो । नगरको वडा नम्बर १ स्थित पर्यटकीय क्षेत्र शान्ति भूल्के सिमसारमा आयोजित कार्यक्रममा उपस्थित हुन सक्नु भएका  भूतपूर्व शिक्षकहरु डम्बरु अधिकारी, चण्डीप्रसाद राई, जगतमणि गौतम, कमलबहादुर भट्टराई, भगतचन्द्र थपलिया, शिवप्रसाद तिम्सिना, लेखनाथ भट्टराई, तारानाथ बराल, भरतबहादुर बस्नेत, उद्धव थापा, लोकनाथ गजुरेल, भोजराज चौहान, भूमिका मगर, हालका प्रधानाध्यापक उमेश खड्कालाई मफलरद्वारा सम्मानित गरियो । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोपाल नेपाल र टंक भण्डारी पनि उसैगरी सम्मानित बन्नुभयो ।

 

भावनात्मक सम्बन्धलाई अझ प्रगाढ र सृजनशील बनाएर आफू पढेको विद्यालयका विद्यार्थी अनि विद्यालयको हितमा केन्द्रित रहन सवै व्याचका विद्यार्थीहरुलाई समेटेर एउटा दर्बिलो संस्था बनाउने आवाज उठिरहेको थियो । भूतपूर्व विद्यार्थीहरुको भेला र अन्तरक्रियाको संयोजन गर्दै आउनु भएका कार्यक्रम राजकुमार नाछिरिङ राईले भेलामा बोल्दै आफू पढेको विद्यालयका लागि अक्षयकोष समेत खडा गरेर सामाजिक उत्तरदायित्व पूरा गराउन सबै लागिपर्ने उद्घोष गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य समेत रहनु भएका प्रमुख अतिथि चण्डीप्रसाद राईले अध्ययन र सिकाईका चरणहरुले आफ्‌नो भविष्य निर्माण गर्ने बताउँदै भूतपूर्व विद्यार्थीको योजनामा आफ्‌नो सदा साथ रहने धारणा राख्नुभयो ।

 

यसअघि पूर्व विद्यार्थी समाजको अवधारणामा समिति समेत बनेको भएपनि सो बृहत भेलाले नै समितिको नयाँ स्वरुप निर्धारण गर्ने सहमति बमोजिम कार्यक्रम संयोजक राजकुमार नाछिरिङ राईको संयोजनमा २१ सदस्यीय भूतपूर्व विद्यार्थी सञ्जाल गठन भएको छ । जसको उपाध्यक्षमा राधा ढकाल र राजकुमार विश्वकर्मा, सचिवमा भूपेन्द्रराज तिम्सिना, सहसचिवमा रोशन बुढाथोकी र कोषाध्यक्षमा सारदा बस्नेत चुनिनु भएको छ । रमेश खत्री, भूवन धिमाल, लीला लिम्बू, पुष्प मगर, अञ्जना नेपाल, सूर्य राई, दिलकुमारी राई, अर्जुन खड्का, पवित्रा गौतम, ऋषि चम्लागाईं, भोजकुमार बस्नेत, महेन्द्र नेपाल (टेकनाथ), कमला दाहाल, कुमार चौहान र टंक पराजुली सदस्य रहनु भएको छ ।

 

भेलामा काठमाडौं तथा प्रवासका विभिन्न देशमा सम्पर्क समिति समेत निर्माण गर्ने, संस्थाको अक्षयकोष खडा गर्ने र विधान तय गर्ने निर्णय भएको छ ।
विभिन्न खेलहरु र वनभोजसहितको कार्यक्रममा पूर्व विद्यार्थी एवम् कोशी प्रदेशसभा सदस्य गीता तिम्सिना, विदुषी हेमानन्द गिरी (हेमा ढुंगाना), सिंहबाहिनी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीना राईको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा सिंहबाहिनी माविमा प्रधानाध्यापक उमेश खड्काले सो भेलाका लागि ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभयो । भेलामा कोशी प्रदेशकासाथै काठमाडौंसम्मका भूपू विद्यार्थी र शिक्षकगरी ७५ जनाको उपस्थिती रहेको थियो ।

Share: