दमक, फागुन २६
बाहिरका मानिसले दमक सहरी क्षेत्रका रुपमा रहेको बढी बुझाई छ । हेर्दा सहर देखिने दमकको मौलिक उत्पादन के होला भन्ने जिज्ञासा बढ्छ ।
तर दमक बजार क्षेत्र मात्र नभएर कृषिको उर्बर भूमि हो । यहाँ खाद्यन्न साथै नगदेबालीहरुको पनि उत्पादन मनग्ये हुन्छ । स्थानीयले हस्तकलाका कलात्मक उत्पादन पनि गर्छन् ।
ती कुरा के के हुन् र कसले कसरी उत्पादन गरिरहेका छन् ? त्यो बारेमा थाहा पाउन चाँहि दमक नगरपालिकाले फागुन २७ देखि २८ गतेसम्म दुई दिन स्थानीय उत्पादन तथा रैथाने कृषि मेलाको आयोजना गरेको छ, त्यहाँ आउनै पर्ने हुन्छ ।
दमक नगरपालिका वडा नम्बर ८ स्थित अर्गानिक कृषि भवनमा हुन लागेको यो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको दमक नगरपालिका कृषि शाखा प्रमुख चन्दा भट्टराईले जानकारी दिनु भयो । ३५ वटा स्टल बनाइएकोमा आजसम्म २८ वटा समूह तथा व्यक्तिहरुले आफ्ना उत्पादनको प्रदर्शनी गर्ने भनेर दर्ता गराइसकेका छन् । दुई दिनसम्ममा करिव १५ हजार जनाले यो मेला अवलोकन गर्ने आँकलन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रर्दशनी हुने स्थान हो अर्गानिक कृषि भवन । यो नेपाल सरकारको लगानीमा बनेको संरचना हो । यहाँ विषादी रहित कृषिजन्य सामग्रीको बिक्री वितरण र प्रवद्र्धन गर्न भनेर निर्माण गरिएको हो । यो पूर्ण रुपमा निर्माण समेत भइसक्यो । त्यसैले दमक नगरपालिकाले अब यहाँ यस्तैखाले बजार लगाउन सकिन्छ भन्ने सन्देश दिन पनि अहिले पहिलो चरणमा प्रर्दशनी मेलाको आयोजना गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिनु भयो ।
मेलामा दमकका मात्रै नभएर छिमेकी पालिकाबाट पनि सहभागीहरु आउने छन् । स्टलमा आफ्ना उत्पादनहरुको प्रदेर्शन गर्ने छन् । बजार आफ्नो उत्पादानले मात्रै चल्न सम्भव छैन । त्यसैले आसपासका पाकिलाका उद्यमीहरुलाई समेत यहाँ जोड्ने काम भइरहेको छ । र, अव यो अर्गानिक बजारलाई दमक नगरपालिकाले सञ्चालन गर्ने तर कसरी भन्ने बारेमा चाँहि अझै पनि निर्क्यौैल भइसकेको छैन । नगरकी उपप्रमुख रेगिना भट्टराई प्रसाई भन्नु हुन्छ ‘अहिले तत्काल दमक नगरपालिकाले नै सञ्चालन गर्ने छ, तर पछि यसको स्थिती हेरेर पीपीपी मोडल वा निजीलाई ठेक्कामा दिएर पनि यसको सञ्चालन गर्न सक्नेगरिको कार्यविधि बनेको छ ।’
दमक नगरपालिकाको आयोजना, दमक नगरपालिका वडा नम्बर ८, सहज नेपाल र सेतुमारी कृषि सहकारी दमकको सहआयोजनामा हुन लागेको यो प्रदर्शनी मेलामा कृषिका साथै अन्य उत्पादनहरुको स्टल देख्न पाइने छ ।









