दमक, २५ चैत / विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित निर्णायक आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले देशभरका विद्यालयमा अनिश्चितकालीन आमहड्ताल थालेको छ ।
गत बुधबारबाट काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको महासंघले सोमबार (आज)बाट शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको हो । महासंघको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौ पुगेको अवस्थामा आम हड्तालकै घोषणा भएको छ । हडताल अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि महासंघले शिक्षकहरूलाई निर्देशन दिइएको छ ।
गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक आन्दोलन अघि बढाउने क्रममा हड्तालसम्ममा उत्रिनु परेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाउनु भयो । संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र ऐन निर्माण गरी जारी गर्न माग सहित आन्दोलन निरन्तर अघि बढाउने निर्णय भएको उहाँले बताउनु भयो ।
विगतका सहमतिअनुसार विद्यालय तहका सबै प्रकारका शिक्षकको स्थायित्व, बढुवा तथा सेवासुविधाको सवाल र विद्यालय कर्मचारीको स्थायित्वको सवाललाई समेत समेटेर विधेयक पारित गर्नुपर्ने महासंघले सरकारसँग माग अघि सारेको छ । हाल प्रस्तावित विधेयकमा शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था रहेको छ । स्थानीय तहमा बढी राजनीतिक चलखेल हुने भन्दै आफूहरूलाई संघीय सरकारको मातहत राख्नुपर्ने शिक्षकहरूको माग छ ।
२०८० साल असोज ५ गते सरकार र शिक्षक महासंघबीच भएको सहमति अनुसार शिक्षकको १०/१० वर्षमा आवधिक बढुवा हुनुपर्ने, माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्ष सेवा कायम गर्नुपर्ने भनिएको छ ।









