काठमाडौँ, २६ चैत / काठमाडौं क्षेत्रमा आज तीन वटा प्रदर्शनसहित जनआन्दोलन दिवसका कार्यक्रम हुने भएकाले झडपकोस्थिति नियन्त्रणमा आम मानिसको चासो बढेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्रको पक्षमा बल्खुमा प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा उसको विरोध कार्यक्रम छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित निर्णायक आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले दैनिक प्रदर्शन गर्दै आएको छ । सहकारी तथा लघुवित्त पीडितहरूले पनि सरकारसँगको सहमति कार्यान्वयनको माग गर्दै केही दिनदेखि काठमाडौंमा प्रदर्शन अघि बढाइरहेका छन् । शिक्षकहरुले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी र लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले ती स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसैबीच प्रशासनले आपसका प्रदर्शन भेट हुन नदिन यातायात आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार डाइभर्सनको व्यवस्था मिलाएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको छ ।
डाइभर्सन गरिने स्थानहरू
खसिबजार – मकालु – कलङ्की चोक– बाफल
बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
कार्यक्रममा सहभागी व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू :–
टियू गेट देखी चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँ बसपार्क
सीतापाइला – बाफल सडक खण्डमा एक लाइन
कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरिएको छ । प्रदर्शनहरुलाई हिंसात्मक हुन नदिन ठूलै संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।









