दमक, २६ चैत / नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले प्रतिगमनकारीको भ्रम चिरेर संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनतालाई जगाउने योजनामा चैत ३० मा दमकमा जागरण सभाको आयोजना गरिएको जनाउनुभएको छ ।
एमाले कोशी प्रदेश इञ्चार्ज समेत रहनु भएका राईले कोशी प्रदेश कमिटीको आयोजनामा हुने जागरणसभाले देशबासीको ध्यान तानिरहेको प्रसंग उल्लेख गर्नुभयो । उहाँले राज्य सत्ताको नेतृत्व एमालेले गरिरहेको बेला प्रतिगामी शक्तिको चलखेल सुरु भएको अवस्थामा जनताले प्राप्त गरेका उपलब्धि जोगाउनु दायित्व रहेकाले जागरणसभाको आयोजना गरिएको उहाँले प्रष्ट्याउनु भयो । उज्यालो खबरसँग कुराकानी गर्दै उहाँले भन्नुभयो ‘जनताको उपलब्धिमाथि धावा बोल्दै पूर्वराजावादीका नामबाट प्रतिगमन् सलबलाएको अवस्थामा नेपाल र नेपाली जनताको उपलब्धिको रक्षा गर्ने दायित्व एमालेको हो । एमालेले ती परिवर्तनहरुमा अगुवाको भूमिका खेल्दै आएको अवस्थामा जनताको अधिकार रक्षा गर्न जनतालाई जगाउन आवश्यक रह्यो ।’
चैत १५ मा काठमाडौंमा पूर्वराजावादीहरुको नाममा भएको हत्या, हिंसा र आगजनीका घटनाले नेपालीलाई संवेदनशील बनाएको हिसावले सबै कुरा बुझाउँदै जनतालाई जागरुक गराउन आवश्यक रहेकाले आफूहरु परिस्थिति अनुरुप सडकमा आउनु परेको उहाँको भनाई छ । ‘प्रतिगमनकारीको भ्रम चिरेर संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनतालाई जगाउँदै एक ढिक्का भएर उभ्याउने सभाको प्रमुख उद्धेश्य हो ।’– उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीको गृह जिल्लाको गृहनगर मात्र नभएर दमक नयाँ विस्तार र विकास हुँदै तीव्र सहरीकरण भइरहेको स्थल भएकाले दमकबाट सन्देश छर्न सो स्थललाई रोजिएको उहाँले जवाफ दिनु भयो ।
झापा, मोरंग, सुनसरी, इलाम, उदयपुर क्षेत्रलाई विशेषगरी समेटेर १ लाख हाराहारीमा जनता सहभागिता गराउने लक्ष्य रहेको सुनाउनु भयो ।









