दमक, २६ चैत / नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कोशी इञ्चार्ज शेरधन राईले जनताको सवाललाई लिएर जनतालाई नै सचेत र जागरुक गराउन यो बेला एमाले सडकमा आउन आवश्यक रहेको बताउनु भएको छ ।
चैत ३० गते झापाको दमकमा पार्टीको कोशी प्रदेश कमिटीले आयोजना गरेको बृहत जनप्रदर्शन र जागरणसभाको सन्दर्भमा मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रेस चौतारी झापाले दमकमै आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिले सरकारको कामको सवाल भन्दा पनि जनताको सवालमा एमाले जागरणसभामा उत्रिनु परेको प्रष्ट्याउनु भयो । उहाँले भन्नुभयो ‘अहिलेको सवाल सरकारसँगको होइन, यो आम जनताको सवालसँगको हो । लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि हो । जनताको सवाललाई लिएर जनतामाझ नै जनतालाई सचेत गराउन आवश्यक भयो ।’
स्टेरिङ कमिटीले चैत १३ गतेको बैठकबाट चैत ३० मा हुने कार्यक्रमका बारेमा निर्णय गरेको थियो । सोमबार दोस्रो बैठकले कार्यक्रमको तयारीका बारेमा छलफल गरेको जनाउँदै उहाँले प्रतिगमनकारीको भ्रम चिर्न र लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त जनताको उपलब्धि रक्षा गर्न यो बेला आवश्यक रहेकाले जागरणसभाको औचित्य रहेको थप प्रष्टाउनु भयो । उहाँले दमकको नेतृत्व गर्ने एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निरन्तर भइरहेको प्रहारलाई चिरेर यथार्थ प्रष्ट्याउन समेत यो खाले कार्यक्रम दमकमै राखिएको अर्थ्याउनु भयो । प्रमुख वक्ता प्रधानमन्त्री ओली नै रहने कार्यक्रम छ । ओली झापा ५ बाट प्रतिनिधिसभामा निर्वाचित बन्नु भएको हो ।
चैत १५ गते पूर्वराजावादीहरुले काठमाडौंमा गरेको हत्या, तोडफोड र आगजनीको घटनाप्रति घोर निन्दा गर्दै त्यस्ता तत्वलाई परास्त गर्ने सन्देशका लागि पनि दमकको सभा रहेको समेत राईले औंल्याउनु भयो ।
विभिन्न विन्दुबाट सहभागिलाई व्यवस्थित रुपमा कार्यक्रमस्थलमा भित्र्याउने योजनाका बारेमा पनि उहाँले जानकारी गराउनु भयो । साथै दमकको पशुहाटमा हुने कार्यक्रममा उहाँले २ हजार स्वयमसेवक तय गर्दै साँस्कृतिक झाँकीसहितको जातीय सद्भाव र एकताको सन्देश दिने प्रस्तुतिहरु समेत कार्यक्रममा रहने जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारी, केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रोमनाथ ओली, कोशी अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सांसद होमबहादुर थापा, नेतृ मेनुका काफ्लेलगायतको उपस्थिति रहेको थियो ।









