दमक, ६ बैशाख / ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएसँगै बालबालिकाको स्वास्थ्य पोषण पनि परीक्षण गरिने बताएको छ ।
यस पटक ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागु गरिएको हो ।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागु गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।









