दमक, ८ बैशाख / सफाई मजदुरलाई सम्मानित गर्दै दमक नगर इसाई समाजले दमकको मुख्य बजार क्षेत्रमा जनचेतनामूक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
पुनरुत्थान दिवस, ईष्टर सन्डेका अवसरमा नमुना मार्गमा आयोजित कार्यक्रममा समाजका अगुवाहरुको सहभागितामा सडक क्षेत्रको सरसफाई गरिएको समाजका दमकका पूर्व अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले जनाउनु भयो ।

दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यताको कार्यक्रममा वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष कमल श्रेष्ठ, नगरको फोहोरमैला व्यवस्थापनको जिम्मेबारी लिएको नेष्ट इरा एनर्जी प्रालिका प्रवन्धक बिमल खतिवडासहितको आतिथ्यता रहेको थियो । उहाँहरुले दमकमा फोहोरमैला व्यवस्थापन चुनौतीका रुपमा रहिरहेको अवस्थामा यसखाले चेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै समाजको कार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
इसाई समाज दमकका निवर्तमान अध्यक्ष आकाश थुलुङले संयोजन र समाजका दमक अध्यक्ष हेमन्त सुब्बाले अध्यक्षता गर्नुभएको कार्यक्रममा सरसफाई मजदुर अनुषा सोरेन, अधरिया माझी र मनबहादुर राईलाई नगद सहित सम्मानपत्रले सम्मानित गरियो ।
कार्यक्रममा नगर अन्तर्गत रहेका ३३ वटा चर्चका गरी करिब १ सय ५० जनाको सहभागिता रहेको थियो ।









