दमक, ९ बैशाख / मंगलबार भगवान गणेशको बार । प्रत्येक मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले गणेश थापेर पूजा गर्ने प्रचलन छ । यसमा पनि मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ । शास्त्रमा गणेशको १६ वटा पूजा विधि उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन् । यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।
‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ । तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक मानिन्छन् । भगवान गणेशको अर्को नाम ‘विघ्नेश्वर’ पनि हो । उनी सबै बिघ्नबाधाहरुको निवारक पनि हुन् ।
मंगलबार कुखुरा वा अन्य पंक्षीको काटमार गर्दा मानिसको बुद्धि भ्रमित हुने, माछा मासु खाँदा आर्थिक नोक्सानी हुने, मदिरा सेवन गर्दा क्रोधमा वृद्धि हुने धर्मशास्त्रमा उल्लेख गरिएको छ । गणेशजीलाई सबैभन्दा बढी मन पर्ने भोजन लड्डु हो । यसबारे पद्मपुराणमा एउटा कथा छः–
पूर्वकालमा पार्वतीदेवीलाई देवताहरूले अमृतले तयार पारिएको एउटा दिव्य लड्डु दिए । लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले । तब माताले लड्डुको महत्वको वर्णन गरेर भनिन् कि तिमीहरु मध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु । माताको यस्तो कुरा सुनेर कुमारले मयुरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आए । यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ भए । तब गणेशजीले श्रद्धापूर्वक मातापितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिए ।
यो देखेर माता पार्वतीले भनिन्, ‘सबै तीर्थमा गरेको स्नान, सबै देवतालाई गरेको नमस्कार, सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत, मन्त्र, योग र संयमको पालन यी सबै साधनाहरू मातापिताको पूजाको अंशको बराबर पनि हुन सक्दैन ।’
त्यसकारण गणेशजी सयौँ पुत्रहरू र सयौँ गणहरूभन्दा पनि धेरै छन् । त्यसैले उनलाई गणनायक पनि भनिन्छ । पार्वतीले सो लड्डु गणेशलाई अर्पण गरिन् । त्यसकारण यो लड्डुसँग मातापिताको भक्ति पनि जोडिएको छ । हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उहाँले गर्नुभएको मातापिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ ।









