दमक, १५, बैशाख । दमक ६ स्थित बसपार्कमा बन्न लागेको पार्कको शिलान्यास गरिएको छ ।
सोमबार दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, दमक ६ का वडाध्यक्ष टेक बहादुर थापसहितको टोलीले सो पार्कको शिलान्यास गरेको हो । यो पार्कले दमकको सौन्दर्यता बढाउने अपेक्षा गर्नुका साथै बसपार्क क्षेत्रमा हुने दुर्व्यसनीका घटना हट्ने विश्वास स्थानीयको छ ।
दमकको बसपार्कको पूर्व तर्फ सानो डाँडो खाली ठाउँ छ । अलिकति खुला ठाउँ देखिएकोले यहाँ पार्क बनाएर यसको सौन्दर्यकरण गर्ने योजना दमक नगरपालिकाले बनायो । त्यसपछि नगरपालिकाले यहाँ बुद्धको मूर्तिको स्तम्भ र विश्वकर्मा बाबाको सानो मन्दिर समेत बनाउन भन्दै बजेट बिनियोजन समेत गरेको छ । १८ लाख ५६ हजार ४ सय ७० रुपैँयाको लागतमा बन्न लागेको यो पार्कमा के के हुन्छ र कस्तो बन्छ भनेर नगरपालिकाका सवइञ्जिनियर केशव सुवेदी जानकारी गराउनु भयो ।
बसपार्कमा यस खाले देउताको मन्दिर सहितको पार्क बन्दा यसले दुर्घटना न्यूनीकरण गर्न समेत मद्यत पुग्ने विश्वास बस व्यवस्थापन समितिको छ । साथै यहाँ हुने लागु औषध सेवन गर्नेहरुलाई निरुत्साहित समेत गर्न मद्यत पुग्ने समितिअध्यक्ष गंगा प्रसाद सिटौलाको विश्वास छ ।
यसले दमकको सौन्दर्यता बढाउँदै थप आकर्षक ठाउँको विकास गर्न मद्यत गर्ने वडा नं ६ का वडाध्यक्ष टेक बहादुर थापाले बताउनु भयो । अहिले सानो ठाउँलाई पनि सदुपयोग गरेर कसरी सुन्दरता दिन सकिन्छ भन्ने सोचेर दमक प्रवेश गर्ने जो कोहीको नजरमा दमक राम्रो छ भन्ने सन्देश दिन पनि यो खाले पार्क निर्माण गरिएको वडाध्यक्ष थापाको प्रष्टोक्ति छ ।
आगामी जेठ ३० गते सम्ममै निर्माण सम्पन्न गरिने यो पार्कले दमकको सौन्दर्यता बढाउन त सकिन्छ नै तर यसै ठाउँमा बहुतले बसपार्क निर्माणमा अवरोध हुन्छ कि हुँदैन भनेर सोधिएको प्रश्नमा दमक नगरपालिकाका प्रमुख थापा भन्नु हुन्छ ‘त्यो परियोजना निर्माण भयो भने पनि यसले कुनै असर पर्दैन । तर त्यो परियोजना कहिले बन्छ, यो चाँहि अहिलेनै बन्छ ।’
लागु औषध प्रयोगकर्ताको अखडाको रुपमा बद्नामी कमाएको दमक बसपार्कमा वुद्धको मूर्ति र विश्वकर्मा बाबाको मन्दिर बन्ने भएसँगै बसपार्ककै पहिचान फेरिनेमा नगरपालिका आशावादी देखिएको छ ।









