दमक, २० बैशाख / दुई दिन अघि सडक दुर्घटनामा परि मृत्यु भएका दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको आज अन्येष्टि गरिएको छ । दाहसस्कार गर्न कन्काईमाई लैजानु अघि नगरपालिकाको प्राङ्गणमा राखेर उहाँको सम्मान गरिएको थियो । श्रद्धाञ्जली सभामा सहभागी भएका सबैको आँखा रसाएका थिए भने उहाँको इमान्दारिता र सहयोगी भावनाको स्मरण गरिएको थियो ।
दमक नगरपालिकाको प्राङ्गण । अरुबेला सेवाग्राहीले भिडभाड हुने गरेको थियो । तर आज शनिबार भने सेवाग्राही थिएनन तर पनि भिड थियो । त्यो भिड कुनै उत्सव मनाउन हैन । यो श्रद्धाञ्जली सभामा सहभागी हुन आउनेको भिड हो । अनि श्रद्धाञ्जली सभा चाहिँ दुई दिन अघि उदयपुरमा यातायातको साधन दुर्घटनामा परेर मृत्यु हुनु भएका दमक नगरमा कार्यरत कानुन अधिकृत माधव बस्नेतको हो ।
सबैका आँखाबाट आँशुका थोपा झरेको देखिन्थ्यो । आँखा रसाएर सबैका राता भएका थिए । चाहे उहाँका सहकर्मी कर्मचारी हुन् वा जनप्रतिनिधि अथवा अन्य नगरबासीनै किन नहुन् । सबैको मन बेचैन थियो । अपत्यारिलो घटनाले सबैको मन मुटु दुखेको थियो । श्रद्धाञ्जली सभामा भेटिनु भएका नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी गगनले पनि भावुकता प्रकट गर्नुभयो ।
विद्यालय देखिनै सँगै देखभेट र घुलमिल हुँदै अहिले काम पनि एउटै कार्यालयमा गरिरहनु भएका दमक नगरपाकिलाका इञ्जिनियर अनन्त सेनेहाङले आफुले सहकर्मी मात्रै नगुमाएर एक हितैसी व्यवहारिक मित्र गुमाएकोमा दुःख व्यक्त गर्नु भयो ।
दमक नगरपालिका ९ का वडाध्यक्ष कुवेर भट्टराई भन्नु हुन्छ ‘माधव सरले न कसैको कुभलो चिताउनु भयो न कसैलाई नराम्रो भन्नु हुन्थ्यो ।’ अतिनै मिलनसार कर्तव्यनिष्ट व्यक्ति गुमाउनुको पीडा असह्य रहेको उहाँको प्रतिकृया थियो ।
सँधै सबैसँग हाँस्दै सेवा दिने । मिठो बोली बचनले सबैलाई आफ्नो बसमा पार्न सक्ने खुबी हुनु भएका बस्नेत कर्तव्यनिष्ठ रहनु भएकोले उहाँको मृत्युबाट दमक नगरपालिकाको अतुलीय क्षति भएको नगर प्रमुख राम कुमार थापाले बताउनु भयो ।
दमक नगरपालिकामा सयांैको उपस्थितीमा श्रद्धाञ्जली सभा र नगर परिक्रमा समेत गराइएको बस्नेतको पार्थिव शरीरलाई हजारौंका बिच कन्काईमाइमा आज दाहसंस्कार गरिएको थियो । उहाँ चढ्नुभएको गाडीमा दुर्घटनामा परेका जनप्रतिनिधि र कर्मचारी गरी ६ जनाको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, कानुन अधिकृतको मृत्यूमा भोलि दमक नगरपालिकाले शोक बिदाको घोषणा गरेको छ ।









