दमक, २१ बैशाख । पश्चिमी वायु र बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण काठमाडौं उपत्यकासहितका देशका पहाडी भूभागमा वर्षा भएको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मोरङको विराटनगर र आसपासका क्षेत्रमा समेत वर्षा हुन सुरु भएको छ ।
यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने तथा केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र बाँकी भूभागमा आंशिक बदली रहने छ । हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।









