पथरी, २१ बैशाख / मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा दोस्रो नगर खेलकुद महोत्सव २०८२ सुरु भएको छ ।
नगरको खेलकुद विकास समितिको आयोजनामा “खेलकुद राष्ट्रको सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा दिइएको ११ दिने नगर खेलकुद महोत्सवको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभयो ।
प्रस्तावित पथरी रंगशालामा उद्घाटित कार्यक्रममा नगर उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर)सहितको आतिथ्यता रहेको थियो । उद्घाटन खेलमा नाजारिन एफ.सी. विजयी भएको छ । नाजारिनले न्यू स्टार एफ.सी.लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।
अवसरमा पुरुष तथा महिला वडा स्तरीय फुटबल तथा भलिबल प्रतिस्पर्धा हुने महोत्सवका संयोजक दीपक राईले जानकारी दिनुभयो ।
२१ देखि २७ गतेसम्म जिरीखीम्ती खेलमैदानमा क्लब स्तरीय क्रिकेट प्रतियोगिता हुनेछ । बुद्धिचाल प्रतियोगिता सिन भिलेजमा २८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी, कराँते प्रतियोगिता किर्तीपुरको बाल कल्याण माविमा खुल्ला स्तरीय हुने भएको छ भने महिला पुरुष तर्फ म्याराथन, भारोत्तोलन र पौडीका प्रतियोगिताहरू सञ्चालन हुनेछन् ।
फुटबल ( पुरूष) तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने विजेतालाई क्रमशः १ लाख र ५० हजार रूपैयाँ नगद सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने प्रत्येक म्याचमा दुई हजारका दरले ’म्यान अफ द म्याच’ घोषित खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । गोल्डेन बल, गोल्डेन बुट र गोल्ब्स विधाहरूका विजयी खेलाडीहरूलाई ५ हजार रूपैयाँका दरले पुरस्कृत गरिनेछ । यसैगरी, महिला फुटबल तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई १५ र ७ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
यसैगरी ,भलिबलतर्फ प्रथम पुरस्कार ३१ हजार नगद तथा दोस्रो पुरस्कार २१ हजार नगदसहित ट्रफी तथा मेडलले प्रस्तुत गरिनेछ । बेष्ट स्पाईक, बेष्ट ब्लकर, बेष्ट प्लेयर , बेष्ट लिब्रो, बेष्ट सेटर लगायतका विभिन्न विधाहरुमा विजयी खेलाडीहरूलाई ३ हजारका दरले नगदसहित ट्रफी प्रदान गरिनेछ भने म्यान अफ द म्याच घोषित खेलाडीलाई नगद २ हजार रूपैयाँ प्रदान गरिनेछ ।
क्रिकेट तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीहरूलाई ३५ हजार र २० हजार नगद सहित ट्रफी प्रदान गरिने नगरको युवा तथा खेलकुद शाखाका अधिकृत तथा नगर खेलकुद विकास समितिका सदस्य सचिव नवीन खुलाल बुढाथोकीले जनाउनु भयो ।
म्याराथन प्रतियोगिताकापुरुष तथा महिला दुवै प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरूलाई जनही ७ हजार, ५ हजार, ३ हजार र २ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने कराँतेतर्फ प्रथम पुरुष खेलाडीलाई ५ हजार र महिलातर्फ ५ हजारले प्रदान गरिने आयोजक समितिले जनाएको छ । यसैगरी, बुद्धिचाल प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौं, छैठौँ र सातौँ स्तन हासिल गर्ने विजयी खेलाडीलाई क्रमशः १० हजार, ६ हजार, ४५ सय , ३५ सय र २५ सयका दरले पुरस्कृत गरिने छ ।
प्रतियोगिताका लागि अनुमानित १४ लाख ५० हजार खर्च हुने प्रक्षेपण गरिएको छ ।









