पथरी, २१ बैशाख । आफ्नो धार्मिक/सांस्कृतिक कार्य गर्दै आएको स्थलमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीमा धिमाल समुदायले विरोध जनाएको छ ।
धिमाल समुदायसँग समन्वय नगरी व्यापारिक प्रयोजनको लागि नयाँ संरचनाहरु निर्माण गरेर आफ्नो सांस्कृतिक स्थल कब्जा गर्न खोजेको भन्दै धिमाल जातीय विकास केन्द्र लगायतले पत्रकार सम्मेलनको आयोजना गरेर विरोध जनाएको हो । सो स्थलमा धिमाल समुदायसँग समन्वय नगरी निर्माण थालिएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उल्लेख छ । आस्थाको केन्द्रको रुपमा स्थापित सो स्थलमा धम्कुवा गाउँटोलले पूजा गर्दै आएको धिमाल जातीय विकास केन्द्र केन्द्रीय सचिव अजित धिमालले बताउनुभयो ।
पत्रकार सम्मेलनमा केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमाल, स्थानीय जन्तलाल धिमाल, राजकुमार धिमाल, नेपाल आदिवासी जनजाति महासंघ मोरङ जिल्ला उपाध्यक्ष भोजवीर माझी, कानेपोखरी गाउँ समितिका डुलु राजवंशी, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद् लक्ष्मण चौधरी, स्थानीय डिल्लीप्रकाश चौधरी लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा धिमाल समुदायको देव स्थलमा जबरजस्ती अतिक्रमणको प्रयास गरिए जस्तोसुकै कडा संघर्षको कार्यक्रम ल्याउन ल्याइने धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमालले उल्लेख गर्नुभयो ।
केही दिनअघि निर्माण कार्य सुरु गर्न जेसीबीले खाडल (डोब) खनेपछि शुक्रबार स्थानीय धिमाल समुदायले डोब (खाडल) पुरिदिएका थिए । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा धिमाल समुदाय आदिम कालदेखि बसोबास र सांस्कृतिक कार्य गर्दै आएको उल्लेख छ ।
धिमाल समुदायको मुन्धुम, मिथकमा सो स्थल कानी बेराङ र शक्तिशाली महिलाको अलिखित कथा आउने गरेको विज्ञप्तिमा उल्लेख छ । प्रकृति पूजक धिमाल समुदायले कानेपोखरी गाउँपालिका—७ मा रहेको ऐतिहासिक कानेपोखरी भएको स्थल नजिकै वार्षिक रुपमा धार्मिक सांस्कृतिक कार्य गर्दै आएका छन् । सो स्थलमा धिमाल समुदायले पूजा गर्नुको साथै ढोल बजाएर सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विराट राजाको पालादेखिको सोही पोखरीको नामबाट गाउँपालिकाको नाम कानेपोखरी राखिएको छ ।
त्यहाँ नयाँ संरचना निर्माणको लागि डोबहरु खन्न थालेपछि धिमाल समुदायले पुरिदिने र फेरि खन्ने दोहोरी हुन थालेको छ । सो स्थलमा टिकट घर, घेराबार लगायत संरचनाको लागि ९२ लाख संघीय सरकारबाट बजेट परेको बुझिएको छ ।









