दमक, २३ बैशाख / पछिल्लो केही वर्षयता झापा जिल्लामा किशोरकिशोरी र युवावर्गमा लागुऔषधको दुर्व्यसनको दर बढ्दो क्रममा देखिएको छ । यिनै सामाजिक चिन्तन र यथार्थका विषयमा जनचेतना फैलाउन दमक नगरपालिकाको सहकार्यमा कदम थिएटरले प्रस्तुत गरेको चेतनामूलक नाटक ‘द मेज’ नगरका १० वटै वडामा मञ्चन गर्नेगरी मञ्चन कार्य अघि बढेको छ ।
समाजमा मौन रूपमा फैलँदो लागुऔषध समस्या, बालबालिकाको जीवनमा त्यसले पार्ने असर, र अभिभावकको व्यस्तताले सिर्जने दूरी — यी सबै पक्षलाई कलात्मक रूपमा मञ्चमा उतारिएको छ । यो नाटक विशेष गरी अभिभावक, विद्यार्थी, शिक्षक र समुदायलाई लक्षित गर्दै तयार पारिएको कदम थिएटरका कला निर्देशक सिजन दाहालले जानकारी गराउनु भयो । घरमै भएर पनि नदेखिएको, देखेर पनि नबुझिएको समस्या — लागुऔषध — लाई खुला बहस र आत्मचिन्तनको विषय बनाउने प्रयास ‘द मेज’ले गरेको छ ।
मंगलबार दमक–२ स्थित त्रिपुरेश्वर मन्दिर (हिमावी छेउ), दमक–३ को चुलाचुली मावि र दमक–४ को कृष्ण माविमा सफलतापूर्वक मञ्चन गरिएको छ । स्थानीय बासिन्दा, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम प्रभावकारी बनेको थियो ।
भोलि दिउँसो १ बजे दमक–८ स्थित जनता आधारभूत विद्यालय र साँझ ४ बजे बजे दमक–६ को नमुना मार्गमा नाटक मञ्चन हुने तय भएको छ ।
नाटकका लेखक तथा निर्देशक मनिक शंकर हुनुहुन्छ । जसले लामो समयदेखि समाजमा मौन रूपमा दबिएको पीडालाई मञ्चमा उतार्दै आउनुभएको छ । कलाकारहरूको टोलीमा मनोज गौतम, आयुस भण्डारी, नविन रिजाल, रश्मी उप्रेती, पारुमा राई, बुङ छेङ, रोशन मुर्मु, र अनिष्मा पौडेल रहनु भएको छ । प्रस्तुतिमा अभिनय, संवाद र भाव–भंगिमामार्फत लागुऔषधको मनोविज्ञान र त्यसले निम्त्याउने पारिवारिक तथा सामाजिक विघटनलाई सजीव रूपमा प्रस्तुत गरिएको छ ।
दमक नगरपालिकाको आर्थिक र संस्थागत सहकार्यमा गरिएको यस अभियानले समुदायमा गहिरो प्रभाव पार्ने विश्वास आयोजकले लिएको छ । कार्यक्रम संयोजकका अनुसार, ‘द मेज’ केवल नाटक होइन, चेतनाको कडी हो — जसले बालबालिका र युवाहरूलाई बचाउने दिशामा संवादको ढोका खोल्छ ।
‘द मेज’ – यो समाजमा भुसको आगो झैं फैलिएको कुलत विरुद्ध एउटा सशक्त कलात्मक आवाज, एउटा मौन समस्याको विरुद्धमा बोलिएको दर्विलो सचेतनाको कडीका रुपमा प्रस्तुत छ ।









