पथरी, २५ बैशाख / मोरङको पथरी शनिश्चरे दोस्रो नगर खेलकुद महोत्सव अन्तर्गत क्रिकेट खेलको फाइनलमा टिम भुल्के र टिम सेल्फीबीच प्रतिष्पर्धा हुने भएको छ ।
बुधबारको खेलमा टिम सेल्फीले टिम डाँस मोरङीलाई पराजित गर्दा टिम भुल्केले टिम बक्राहालाई पराजित गरेसंगै लिगमा शीर्ष अंकका साथ दुबै टोली फाइनलमा प्रवेश गरेका हुन् ।खेलको फाइनल बैशाख ३० गते हुने छ ।
लिगका दुबै खेल हारेका टिम डाँस मोरङी र टिम बक्राह बाहिरिएका छ्न । टिम सेल्फीले डाँस मोरङीलाई ५ रनले पराजित गर्दै जित हात पारेको छ ।
टस जितेर ब्याटिङ रोजेको टिम सेल्फी १७.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनायो । सेल्फीका लागि सोलोमन राईले ३८ रन र अस्विन महतले २७ रन बनाउन सफल हुनुभयो ।
बलिङतर्फ डाँस मोरङीका महेश कार्की र रोशन थापाले समान ३/३ विकेट लिए भने रोहन गहतराजले २ तथा सञ्जय मुर्मु र सत्यम दाहालले समान १/१ विकेट लिनुभयो । ११७ रनको लक्ष्य पछ्याएको डाँस मोरङी १७.४ ओभरमा १११ रनमै समेटियो । आदर्श कार्कीले ४७ रन र महेश कार्कीले १० रन बनाउन बाहेकअन्य ब्याट्सम्यानले दोहोरो रनको योगदान दिन सकेनन् ।
टिम सेल्फीका बलरहरू उत्कृष्ट प्रदर्शनमा रहेको देखिन्थ्यो । सुदीप चौधरी र अस्विन महतले समान ३/३ विकेट लिए भने बुद्ध आले मगर र सुधीर बस्नेतले समान १/१ विकेट लिन सफल बनेको अवस्था रह्यो ।
बुधबार नै भएको दोश्रो खेलमा भुल्के टिमले बक्राहा टिमलाई ६० रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भुल्केले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । भुल्केका लागि एन्जल राईले ४१, नेल्सन दंगालले २७, शुसन दंगालले २० र रावन राईले १४ रनको योगदान गर्नुभयो ।
बलिङतर्फ बक्राहाका समित राईले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट, अनिस लुइटेलले २, अभिषेक विक र धन कार्कीले समान १/ १ विकेट लिनुभयो । १५६ रनको लक्ष्य पछ्याउने क्रममा बक्राहा टिम १८.४ ओभरमै ९५ रनमा समेटियो । अनिस लुइटेलले १९, अभिषेक विकले १३ र धन कार्कीले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भुल्के टिमका एन्जल राईले बलिङमा पनि चम्कँदै ३ विकेट जोड्नु भयो । नेल्सन दंगाल, दिपेश भण्डारी र सिदार्थ धिमालले समान २/२ विकेट तथा सुरज खड्काले १ विकेट हात पार्नुभयो । पहिलो खेलमा अस्विन महत म्यान अफ दी म्याच रहँदा दोस्रो खेलमा एन्जल राई म्यान अफ दी म्याच घोषित बन्नु भयो ।









